पोखरा । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सत्तापक्ष माओवादी केन्द्रका सांसदले असन्तुष्टि व्यक्त गरेका छन् । माओवादी केन्द्रका सांसद हरिबहादुर भण्डारीले मन्त्रीमाथि कटाक्ष गरेर बजेटमा असन्तुष्टि जनाएका हुन् ।
मंगलबार ऊर्जा र पर्यटन मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदा उनले असन्तुष्टि जाहेर गरेका हुन् । ‘पर्यटनको विभिन्न सम्भावना बोकेको जिल्लामा दुई वटामात्रै योजनामा बजेट विनियोजन गर्दिनुभएकोमा पर्यटनमन्त्रीलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु,’ उनले कटाक्ष गर्दै थपे, ‘मन्त्रीहरु रातभर जनता, प्रदेशका लागि सोच्नुहुन्छ होला भनेको त आफ्नो जिल्लामा, आफ्ना टोलमा, आफ्ना कुन कार्यकर्ता छुट्यो भनेर सोच्नुभएको रहेछ । बजेट पढ्दा मलाई त्यस्तो लाग्यो ।’
गण्डकीमा कांग्रेसका दीपेन्द्रबहादुर थापा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र कांग्रेसकै सरस्वती अर्याल तिवारी ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री छन् ।
म्याग्दी ठूलाठूला फाँट भएका जिल्ला भएको तर सिँचाइका योजना काटिएकोमा पनि म्याग्दी प्रदेश सभा ‘क’बाट निर्वाचित सांसद भण्डारीले असन्तुष्टि जनाए । मन्त्रीलाई दिएको विश्वासअनुसार बजेट नआएको उनले गुनासो गरे । ‘यो सोचेअनुसारको, जनताले चाहेअनुसारको, जनताले जुन विश्वासका साथ मत दिनुभएको थियो त्यसैअनुसार मन्त्रीज्यूलाई दियौं । सोचेअनुसारको बजेट आएन,’ सांसद भण्डारीले भने ।
मन्त्रालयगत बजेटमा असन्तुष्टि जनाएका उनी सत्तापक्ष भएकाले समर्थन जनाउनुपर्ने बाध्यता रहेको भन्दै बिदा भएका थिए । सांसद भण्डारीले बजेटमा असन्तुष्टि जनाउँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले टेबुल ठोकेर समर्थन जनाएका थिए ।
प्रकाशित मिति २०८० असार १२ गते मंगलबार ०४:०४




