२०८३ साउन २१ गते बिहीबार

स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाले ल्यायो ४४ करोड ६९ लाखको बजेट

स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाले ल्यायो ४४ करोड ६९ लाखको बजेट

युवराज पौडेल

@Public 4K Tv

२०८० असार १३ गते बुधबार १२:५७

गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा पूर्वाधार विकासलाई जोड दिइएको छ ।

स्याङ्जा

स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि नीति तथा कार्यक्रम र कुल ४४ करोड ६९ लाख २ सयको कुल बजेट ल्याएको छ ।
जसमा चालु २६ करोड ७६ लाख दुई सय र पूँजीगत १७ करोड ९३ लाख विनियोजित गरिएको छ ।

यसमा संघीय समानीकरण अनुदान ८ करोड १२ लाख, प्रदेश समानीकरण ९८ लाख ६९ हजार, संघीय राजस्व बाँडफाँड ६ करोड ६४ लाख ५९ हजार २००, प्रदेश सवारी कर बाँडफाँड ४१ लाख ७२ हजार, सङ्घीय समपूरक अनुदान ८० लाख, प्रदेश समपूरक अनुदान ५० लाख अन्तर्गत स्रोत व्यवस्थापन गरिएको छ । संघीय ससर्त अनुदान १९ लाख २२ हजार, प्रदेश ससर्त अनुदान ६० लाख, सङ्घीय विशेष अनुदान ८० लाख आन्तरिक राजस्व र गत वर्षको मौजात ६ करोड ६० लाख गरी कुल ४४ करोड ६९ लाख २०० रुपैयाको बजेटको स्रोतका रुपमा उल्लेख गरिएको छ ।

गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा पूर्वाधार विकासलाई जोड दिइएको छ । विपन्न लक्षित स्थानीय पूर्वाधार विकासलाई महत्वका साथ अगाडि सारिएको छ । तेह्रौँ गाउँसभामा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले आर्थिक वर्ष २०७९–८० मा भएका महत्वपूर्ण उपलब्धि तथा आगामी आर्थिक वर्ष २०८०–८१ का लागि तर्जुमा गरिएको नीति तथा महत्वपूर्ण कार्यक्रमहरुलाई बुँदागत रुपमा सभामा प्रस्तुत गरेका थिए ।

तिवारीले गत आर्थिक वर्षमा भएका उल्लेखनीय कार्यहरुका रुपमा हेलु–अर्जुनचौपारी गाउँपालिकाको ४.५ कि.मि. सडक कालोपत्रे भएको, छाप–सल्यान–आग्रिखर्क सडक निर्माण सम्पन्नको चरणमा रहेको, समयावधिभित्र निर्माण सम्पन्न हुन नसकेको प्रशासकीय भवन यस आर्थिक वर्षमा ३९.४५ प्रतिशत कार्य प्रगति भई निर्माण सम्पन्न भएको बताए ।

उनले अर्जुनचौपारीको सहले फाँटमा एम १६ हेलिकप्टर ल्यान्ड गर्न सक्ने क्षमताको हेलिप्याड निर्माण गरिएको, ट्रस ब्रिज ३ महिनामा नै निर्माण सम्पन्न गरिएको, आग्रिखर्क लिफ्टिङ खानेपानी योजना र भक्तिकोट लिफ्टिङ खानेपानी योजना समयमा नै सम्पन्न भएको जानकारी दिए ।

अध्यक्ष तिवारीद्वारा गाउँसभामा प्रस्तुत भएको आगामी नीति तथा कार्यक्रममा स्थानीय पाठ्यपुस्तक लेखन, सम्पादन र प्रकाशन गरी वितरणको अवस्थामा रहेको, ४ हजार १०० मिटर गोरेटो बाटो निर्माण सम्पन्न भएको, माओवादी घुम्ती ट्रयाक परिवर्तन गरी सडक स्तरोन्नति सम्पन्न भएको लगायतका विषयवस्तुलाई प्रस्तुत गरिएको छ ।

नीति तथा कार्यक्रममा प्रदेश र सङ्घमा पहल गर्दा पनि निर्माण हुन नसकेको अर्जुनचौपारी सदरमुकाम र स्याङ्जा सदरमुकामसम्म जोड्ने अर्जुनचौपारी–रैते–नुवारभञ्ज्याङको सडक निर्माणको कार्यलाई आगामी आर्थिक वर्षमा आवश्यक पहल गरिने उल्लेख गरिएको छ ।

नीति कार्यक्रममा गाउँपालिका केन्द्रदेखि प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडकहरु ५ वर्षसम्ममा सम्पन्न गर्ने योजना छ ।

उक्त आगामी आर्थिक वर्षमा टोलटोलमा आमा समूह गठन गरी आमाहरुलाई कृषि उत्पादनमा जोड्ने, अर्जुनचौपारी बजार क्षेत्रमा व्यवस्थित बसपार्क निर्माण गर्ने, दलित उत्थान केन्द्रमार्फत् दलित सशक्तीकरणलाई अगाडि बढाउने, कार्यसम्पादनको आधारमा गाउँपालिकाभित्र शिक्षकको सरुवा गर्ने, औद्योगिक ग्राम सञ्चालन गर्ने लगायतका विषय प्राथमिकतामा छन् ।

पब्लिक फोर के टेलिभिजनसँग कुरा गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले स्थानीय पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्यमा सुधार र विपन्न तथा दलित वर्गको उत्थानका लागि नीति तथा कार्यक्रमले जोड दिएको बताए । उनले सडक निर्माण, पर्यटकीय स्थलहरुको संरक्षण र विकास, होमस्टेहरुको विकास तथा विस्तारमा समेत जोड दिई सुसाशन तथा शुन्य सहनशीलतालाई आगामी वर्षमा प्राथमिकतामा राखिएको बताए ।

प्रकाशित मिति २०८० असार १३ गते बुधबार १२:५७
हजुरको प्रतिक्रिया