पोखरा
नेपालको कुल जनसंख्याको ४ प्रतिशत अर्थात् लगभग ११ लाख बढीले हाल मानसिक स्वास्थ्य समस्या भोगिरहेको छन् । मानसिक स्वास्थ्यबारे संवेदनशील र गम्भीर नहुँदा भने समस्या लिएर अस्पताल कमै पुग्छन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०७७ ले नेपालमा कुनै पनि रोग झारफुक गरेर निको हुनेमा ६.७ प्रतिशत बिरामीले विश्वास गर्छन् । जुन अस्पतालमा उपचार गराउन पुग्नेको संख्या भन्दा उच्च प्रतिशत हो ।
मानसिक स्वास्थ्यका बिरामीलाई परिवारले नै अस्पतालभन्दा पहिले झारफुक गर्न लैजाने गरेका छन् । परम्परागत उपचारकर्ताका लागि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको संस्था कोशिस नेपालले मंगलबार सचेतनाको कार्यक्रम ग¥यो ।
पोखरा रहेको दैवी शक्ति खोज तथा अनुसन्धान केन्द्रसँग समन्वयमा मानसिक स्वास्थ्यका बारेमा सचेत गराइएको थियो । पोखरा १५ की मिना केसीले झारफुक गर्न थालेको १८ वर्ष भयो । यसबीचमा उनको मानसिक स्वास्थ्यका गम्भीर बिरामी पनि आएका छन् । कतिलाई उनले झारफुक गरेर पठाएकी छन् भने कतिलाई अस्पताल पनि पुग्न भनेकी छन् । मानसिक स्वास्थ्यको बारेमा थाहा पाउँदा यसबारे संवेदनशील हुनुपर्ने उनले बताइन् । मिनाजस्तै थुप्रै झारफुक गराउनेहरुकोमा मानसिक स्वास्थ्य समस्या लिएर युवा पुस्तादेखि वृद्ध अवस्थासम्मका व्यक्ति पुग्ने गरेका छन् । अधिकांशको समस्या पारिवारिक, प्रेम र आर्थिक विषय हुनेगरेको उनीहरु बताउँछन् ।
मनोचिकित्सक विजय राईले विभिन्न अध्ययनले नै मानसिक स्वास्थ्यका बिरामी अस्पतालमा भन्दा झारफुक गराउन नै पुग्ने गरेको बताए । यसले गर्दा बिरामीको स्वास्थ्य अवस्था थप बिग्रने उनले बताए । दैवी शक्ति खोज तथा अनुसन्धान केन्द्रका अध्यक्ष खेमलाल अधिकारीले मानसिक स्वास्थ्यका अधिकांश बिरामी पहिले झारफुक कै लागि आउने गरेको बताए ।
कोशिस नेपालका कार्यक्रम अधिकृत सुदिप घिमिरेले झारफुक परम्परागत उपचार गराउने क्रममा गम्भीर प्रकृतिका मानसिक बिरामीको स्वास्थ्यमा झन् असर पर्ने बताए । उनले त्यस्तो अवस्थामा बिरामीलाई मनोचिकित्सकको पठाउन सहयोग गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति २०८० असार १३ गते बुधबार ०७:४९




