२०८३ साउन २१ गते बिहीबार

मुख्यमन्त्री सम्मेलन भोलि र पर्सि पोखरामा

मुख्यमन्त्री सम्मेलन भोलि र पर्सि पोखरामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १४ गते बिहीबार १०:१०

यो सम्मेलन जेठ १० मा गर्ने तय भएको थियो । तर, प्रधानमन्त्रीको व्यस्तताका कारण त्यतिबेला सम्मेलन स्थगित भएको थियो

समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल पनि आउने

पोखरा

सातै प्रदेशका मुख्यमन्त्री शुक्रबार र शनिबार पोखरामा भेला हुने भएका छन् । गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन् ।

प्रदेशले पाउनुपर्ने अधिकार, एकीकृत विकास मोडललगायत विषयमा भेलामा छलफल हुनेछ । मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आउने छन् । सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार बिहान ११ बजे आउने तय भएको गण्डकी सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । दुई दिने कार्यक्रम होटल पोखरा ग्राण्डमा हुनेछ ।

यो सम्मेलन जेठ १० मा गर्ने तय भएको थियो । तर, प्रधानमन्त्रीको व्यस्तताका कारण त्यतिबेला सम्मेलन स्थगित भएको थियो ।

मुख्यमन्त्रीहरूको भेला दोस्रोपटक हुन लागेको हो । पहिलोपटक २०७५ साल भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भेला भएको थियो । त्यो भेलाले आठ बुँदे घोषणापत्र जारी गरेको थियो ।

प्रदेशमा आवश्यक ऐन, कार्यविधि र सचिवालय गठन गर्नुपर्ने, प्रदेशमा रहने कर्मचारीहरू सबै प्रदेशको मातहतमा सञ्चालन हुनुपर्ने, आन्तरिक बढुवा हुँदा प्रदेशको कामलाई मुख्य मापदण्ड बनाउनुपर्ने, सबैको सरुवा, नियन्त्रण गर्ने अधिकार प्रदेश सरकारको हुनुपर्ने, प्रदेशले संघीय सरकारमा पठाएको रिपोर्ट कार्यान्वयन हुनुपर्ने, राजस्व ४० प्रतिशत संघ र ६० प्रतिशत प्रदेश र स्थानीय तहका लागि छुट्याइनुपर्नेलगायत माग पहिलो भेलाले संघ सरकारसँग राखेको थियो ।

प्रकाशित मिति २०८० असार १४ गते बिहीबार १०:१०
हजुरको प्रतिक्रिया