पोखरा
आईसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई २ सय ७८ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रन बनायो । स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले शतक बनाए । उनी १ सय १० बलमा १ सय ६ रन बनाएर आउट भए । यस्तै कप्तान रिची बेरिङ्टनले ६४ र टोमस म्याकइनटोशले नटआउट ३८ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लिडेले ५ विकेट लिए ।
यो खेलबाट विश्वकपमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । आजको खेल जितेमा स्कटल्यान्ड विश्वकपमा पुग्नेछ भने नेदरल्यान्ड्सलाई जितमात्र पर्याप्त हुने छैन । नेदरल्यान्ड्सले स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य ४४ ओभरमा पूरा गर्नुपर्ने हुन्छ । तालिकामा स्कटल्यान्ड दोस्रो र नेदरल्यान्ड्स चौथो स्थानमा छ । सुपर सिक्सबाट श्रीलङ्का यसअघि नै विश्वकपमा पुगिसकेको छ ।
प्रकाशित मिति २०८० असार २१ गते बिहीबार ०५:१४