२०८३ साउन २१ गते बिहीबार

आईपीएलकाे उपाधि मुम्बईलाई, कसले के जिते ?

आईपीएलकाे उपाधि मुम्बईलाई, कसले के जिते ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २६ गते बुधबार ०७:३०

दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्सले आईपीएल १३ को उपाधि जितेकाे छ । मुम्बई इन्डीएन्सले याेसहित पाँचौ पटक इन्डीएन प्रिमियर लिगको उपाधि जितेको हाे । छैठौं पटक लिगको फाइनल यात्रा...

दिल्ली पराजित, मुम्बई इन्डीएन्सलाई पाँचौ उपाधी

दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्सले आईपीएल १३ को उपाधि जितेकाे छ । मुम्बई इन्डीएन्सले याेसहित पाँचौ पटक इन्डीएन प्रिमियर लिगको उपाधि जितेको हाे ।

छैठौं पटक लिगको फाइनल यात्रा गरेको मुम्बईले लगातार दोश्रो सिजन उपाधि जित्न सफल भएको हो । मुम्बई लगातार दोश्रो सिजन लिग जित्ने चेन्नाईपछि दोश्रो टिम बनेको छ । चेन्नाईले २०१० र २०११ मा लगातार उपाधि जितेको थियो । हारपछि पहिलो फाइनल यात्रामै लिग जित्ने दिल्लीको सपना भने साकार हुन सकेन। दिल्ली गत सिजन दोश्रो क्वालीफायरबाट बाहिरिएको थियो ।

२०१० आईपीएल फाइनलमा चेन्नाईसंग पराजित भएपछि २०१३, २०१५, २०१७ र २०१९ मा मुम्बईले लिग जितेको थियो। मुम्बईको यो पाँचौ आईपीएल उपाधि हो। गत सिजन मुम्बईले फाइनलमा चेन्नाईलाई पराजित गरेको थियो।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम सम्पन्न खेलमा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले ५ विकेट गुमाएर १८.४ ओभरमै पुरा गर्याे ।

मुम्बईको लागि कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ५१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । इशान किशनले अविजित ३३ रन बनाए जुन क्रममा ३ चौका र १ छक्का प्रहार गरे । क्विन्टन डीककले १२ बलमा २० तथा सुर्यकुमार यादवले २० बलमा १९ रन तथा काइरन पोलार्डले ९ रन बनाए ।

मुम्बईको सुरुवात उत्कृस्ट रह्यो। डीकक र रोहितले ४५ रनको ओपनिंग साझेदारी गरे। स्टोइनिसले पाँचौ ओभरमा डीककलाई विकेटकिपर पन्तबाट क्याच आउट गराए। पावरप्लेको ६ ओभरमा मुम्बईले आईपीएल इतिहासकै फाइनल खेलमा सर्वाधिक ६१ रन बनायो। मुम्बईलेनै २०१५ आईपीएल फाइनलमा चेन्नाई बिरुद्ध १ विकेट गुमाएर ६१ रन बनाएको थियो।

डीककको विकेट पछि रोहितले सुर्यकुमार यादवसंग ४५ रन जोडे। ११ औं ओभरमा यादब र रोहित बीच असमझदारी हुँदा रन आउट हुन पुगे। तेश्रो विकेटको लागि रोहित र किशनले ४७ रनको साझेदारी गरे। १७ औं ओभरमा रोहितलाई नोर्कियाले क्याच आउट गराए। त्यसपछि पोलार्डलाई रबाडाले १८ औं ओभरको पहिलो बलमा बोल्ड गरे जुन बेला जित्न मुम्बईलाई मात्र १० रन आवस्यक रहेको थियो। जित्न १ रन बाँकि रहंदा हार्दिक पान्ड्यालाई नोर्कियाले क्याच आउट गराए। लगत्तै बलमा क्रुनाल पान्ड्याले १ रन लिंदै टिमलाई जितसम्म पुर्याए।

दिल्लीको बलिंगमा एनरिक नोर्कियाले २ विकेट ( २.४-०-२५-२ ) तथा मार्कस स्टोइनिस ( २-०-२३-१ ) र कागीसो रबाडा ( ३-०-३२-१ ) ले समान १ विकेट लिए। कुल ३० विकेट लिएका रबाडाले पर्पल क्याप आफ्नो नाम गरे।

यस अघि टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो।

दिल्लीको लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ६५ रन बनाए जुन क्रममा ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। ऐयरको इनिंग आईपीएलको फाइनलमा कुनै पनि कप्तानले बनाएको दोश्रो सर्वाधिक स्कोर हो। सबैभन्दा धेरै डेभिड वार्नरले २०१६ मा बैंगलोर बिरुद्ध ६९ रन बनाएका थिए। रिशभ पन्तले ३८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए। सिजनमा पन्तको यो पहिलो अर्धशतक हो ।

शिखर धवनले १५, अक्षर पटेलले ९, शिमरन हेटमायरले ५, अजिंके रहानेले २ रन बनाए ।

दिल्लीको सुरुवात अत्यन्त खराब रह्यो। इनिंगको पहिलो बलमा ओपनर मार्कस स्टोइनिसलाई खाता नखोली ट्रेन्ट बोल्टले विकेटकिपर डीककबाट क्याच आउट गराए। तेश्रो ओभरमा रहानेलाई बोल्टले डीककबाट पुनः क्याच आउट गराए भने चौथो ओभरमा जयन्त यादवले धवनलाई बोल्ड गरे ।

२२/३ को अवस्थाबाट कप्तान ऐयरले पन्तसंग ९६ रनको साझेदारी गर्दै टिमलाई मुस्किल अवस्थाबाट पार लगाए। १५ औं ओभरमा नाथन कुल्टर नाइलले पन्तलाई हार्दिक पान्ड्याबाट क्याच आउट गराउदै मुम्बईलाई खेलमा फर्काए। हेटमायरलाई १८ औं ओभरमा बोल्टले क्याच आउट गराए। कप्तान ऐयरले अन्तिमसम्म अविजित रहेर ब्याटिंग गरे ।

डेथ ओभरमा दिल्लीले मुम्बई बलरहरुले रनमा कन्जुसी गर्दा दिल्ली मध्यम योगफलमा सिमित रह्यो। १८ र १९ औं ओभरमा बोल्ट र बुम्राहले मात्र ६ रन दिए भने अन्तिम ओभरमा नाइलले मात्र ८ रन खर्चिए। अन्तिम ५ ओभरमा दिल्लीले मात्र ३८ रन बनाउन सक्यो ।

मुम्बईको बलिंगमा ट्रेन्ट बोल्टले सार्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। नाथन कुल्टर नाइलले २ विकेट लिए जुन क्रममा ४ ओभरमा २९ रन खर्चिए। जयन्त यादव ( ४-०-२५-१ ) ले १ विकेट लिए। क्रुनाल पान्ड्या ( ३-०-३०-० ), जस्रप्रित बुम्राह ( ४-०-२८-० ) र काइरन पोलार्ड ( १-०-१३-० ) विकेटविहिन रहे।

आईपीएलमा कसले के जिते ?

राजस्थान रोयल्सका तिब्र गति बलर जोफ्रा आर्चर आईपीएल २०२० को सबैभन्दा मूल्यवान खेलाडी (Most Valuable Player ) घोषित भएका छन्।

आर्चरले लिगमा १४ खेलमा १६.७० को स्ट्राइक रेट र १८.२५ को औशतले प्रतिओभर ६.५५ रन खर्चेर २० विकेट लिएका थिए। यस क्रममा उनले ५५.४ ओभर बलिंग गर्दा १७५ डट बल फालेका थिए। यस्तै उनले ब्याटिंगमा १८.८३ को औशत र १७९.३६ को स्ट्राइक रेटमा ११३ रन बनाएका थिए। कुल १० छक्का हिर्काएका उनले ५ वटा क्याच लिएका थिए।

आर्चर मूल्यवान खेलाडी चुनिएता पनि उनको टिम राजस्थान भने लिग अंकतालिकामा पुछारमा रह्यो। लिग इतिहासमै पहिलो पटक अंकतालिकामा पुछारमा रहेको टिमको खेलाडीले मूल्यवान खेलाडी अवार्ड जितेका हुन्। आर्चरले कुनै पनि खेलमा प्लेयर अफ द म्याच अवार्ड भने जितेनन्।

अरेन्ज क्याप : केएल राहुल ( किंग्स-११ पन्जाब ) राहुलले कुल ६७० रन बनाउदै पहिलो पटक अरेन्ज क्याप जित्न सफल भए। उनले १४ खेलमा ५५.८३ को औशत, १२९.३४ को स्ट्राइक रेटमा १ शतक र ५ अर्धशतक प्रहार गरे।

पर्पल क्याप : कागीसो रबाडा ( दिल्ली क्यापिटल्स ) रबाडाले कुल ३० विकेट लिएर पर्पल क्याप पहिलो पटक जित्न सफल भए। उनले १७ खेलमा १८.२६ को औशत र १३.१३ को स्ट्राइक रेटले उक्त विकेट लिए जुन क्रममा २ पटक एकै इनिंगमा ४ विकेट लिए।

“पावरप्लेयर” : ट्रेन्ट बोल्ट ( मुम्बई इन्डीएन्स ) पावरप्लेको ओभरमा उत्कृस्ट प्रदर्शन गरेका उनले ५ पटक यो अवार्ड जित्दै यो सिजनको “पावरप्लेयर” घोषित भए।

सर्वाधिक छक्का : इशान किशन ( मुम्बई इन्डीएन्स ) कुल ३० छक्का प्रहार गर्दै किशन सर्वाधिक छक्का हिर्काउने खेलाडी भए।

सुपर-स्ट्राइकर : काईरन पोलार्ड ( मुम्बई इन्डीएन्स ) १९१.४२ को सर्वाधिक स्ट्राइक रेटले १६ खेलमा २६८ रन बनाएका काइरन पोलार्ड सिजनको ‘सुपर स्ट्राइकर’ घोषित भए।

गेम चेन्जर : केएल राहुल ( किंग्स-११ पन्जाब )

फेयरप्ले अवार्ड : मुम्बई इन्डीएन्स

उदयमान खेलाडी : देभदत्त पडीक्कल ( रोयल च्यालेन्जर्स बैंगलोर ) यो सिजन डेब्यु गरेका पडीक्कलले ५ अर्धशतक प्रहार गर्दै कुल ४७३ रन बनाए जसले उदयमान खेलाडीको अवार्ड पा ए।

म्यान अफ द फाइनल : ट्रेन्ट बोल्ट ( मुम्बई इन्डीएन्स )

प्रकाशित मिति २०७७ कात्तिक २६ गते बुधबार ०७:३०
हजुरको प्रतिक्रिया