गण्डकी प्रदेश सरकार ल्याएको आगामी वर्षको बजेट पारित भएको छ । असार १ गते अर्थमन्त्री जीतप्रकाश आलेले संसदमा प्रस्तुत गरेको आगामी वर्षको बजेट शुक्रबार बहुमतले पारित भएको हो ।
२२ दिनसम्म संसदमा भएको छलफल र ३ पटकसम्म एमालेले गरेको अवरोधबीच बजेट पारित भएको हो । गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । अघिल्लो वर्षभन्दा डेढ अर्ब सानो बजेट अर्थमन्त्री जीतप्रकाश आलेले प्रस्तुत गरेका हुन् । बजेटप्रति सत्तापक्षकै सांसदले तीव्र असन्तुष्टी जनाए भने प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले त २ पटकसम्म अवराधन नै गर्यो ।
सरकारको नीति तथा कार्यक्रम र बजेटसँग तालमेल नभएको र सांसदको योजना काटेर कर्मचारीको योजना हालिएको भन्दै सत्तापक्षकै सांसदले असन्तुष्टि जनाए । सत्ता पक्षकै सांसदहरुले सरकारको बजेटमा कर्मचारीतन्त्र हाबी भएको आरोप लगाए ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट मुस्ताङको उपल्लो क्षेत्रमा एउटा कार्यक्रममा पनि बजेट नपरेको भन्दै संसदमै सांसदले खेद प्रकट गरे भने कांग्रेस संसदीय दलको बैठकमा सामाजिक मन्त्री सुशीला सिम्खडाको राजीनामा माग्नुपर्ने आवाजसमेत उठ्यो ।
मन्त्रालयगत योजनाअनुसार छुट्टाछुट्टै पुस्तक छाप्ने, योजना कार्यान्वयनमा गएपछि सांसदलाई अनुगमनमा खटाउने, आयोजना बैंक बनाउन आपसी समझदारीमा कार्यविधि बनाउने र बजेटको सूचना चुहावट भएको भए छानबिन गरेर कारबाही गर्ने सहमति कार्यव्यवस्था परामर्श समितिमा जुटेपछि फेरि बजेटमाथिको छलफल चलेको थियो । असार ७ र ११ गते तथा शुक्रबार बजेट छलफलकै क्रममा सांसदको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरुद्ध ग¥यो ।
सरकारले प्राथमिकताको क्षेत्र अझै पनि पहिल्याउन नसकेको प्रमुख विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीको भनाइ थियो । अर्थमन्त्री आलेले भने सरकारले उत्पादनमा आधारित अनुदान दिने, यसअघि धेरै विवादित र कार्यकर्तामुखी बजेट बाँड्ने जस्ता कार्यक्रम रोकिएको दाबी गर्छन् । अर्थमन्त्री आलेले राजस्वको दर बढाउने नभइ दायरा बढाउने काम गरेको बताए ।
सरकारले ल्याएको ३३ अर्ब ४२ करोेड ७२ लाख बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन भएको छ । पुँजीगततर्फत २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत बजेट ल्याइएको हो ।
प्रकाशित मिति २०८० असार २२ गते शुक्रबार ०३:१७




