पोखरा
बर्खा सुरु भएसँगै जलकुम्भी झारले छपक्कै छोपेपछि फेवाताल कुरुपै देखिएको थियो । फेवाताल हेर्न र रमाउनका लागि आउने पर्यटक जलकुम्भी झारैझर देख्न खिन्न हुने गरेका थिए । फेवाको जलकुम्भी निकाल्न पछिल्लो समय एकपछि अर्को अभियानै चल्यो ।
यसैक्रममा शनिबार लेकसाइड मदिरा व्यवसायी समितिले फेवातालबाट झार निकालेको छ । फेवा कुरुप भएपछि व्यवसायीहरुले नै सफाइ अभियान चलाउनुपर्छ भन्दै समितिले जलकुम्भीको झार निकालेको अध्यक्ष रोशन देवकोटाले बताए ।

फेवातालको सिमसार क्षेत्रका घोलमा हिउँदमा फस्टाउने जलकुम्भी झार वर्षायाममा तालको सतह बढेपछि बगाएर वर्षेनी तालमा फैलिँदै आएको छ ।
जलकुम्भी निकाल्नका लागि विभिन्न अभियानै चल्ने गरेका छन् भने अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पनि जलकुम्भी निकाल्ने काम भइरहेको छ ।
शनिबार लेकसाइड मदिरा व्यवसायी समितिले बाराही घाटबाट माछा सेक्सनसम्मको जलकुम्भी झार निकालिएको कार्यक्रम संयोजक कृष्ण बरालले जानकारी दिए ।

समितिका पदाधिकारी, जनप्रतिनिधि, नेपाली सेनाका प्रतिनिधिसहितको टोलीले जलकुम्भी झार निकाल्न सरिक भएको अध्यक्ष देवकोटाले बताए ।
फेवातालकै कारण लेकसाइडको व्यवसाय धानिएको र त्यही फेवाताल कुरुप बनेकाले जलकुम्भी झार निकाल्ने कार्यक्रम राखिएको अध्यक्ष देवकोटाको भनाइ थियो ।

वडा नम्बर ६ की सरसफाइ संयोजकसमेत रहेकी वडा सदस्य पवित्रा थापाले ताल बचाउन र सरफाइन गर्नु सिंगो पोखराकै दायित्व भएको बताइन् ।
वर्षायाममा बाढीले ल्याउने माटोले जलारी समूदायले माछा पालेको केज पुरिँदा केजमा माछा पाल्ने अवस्था पनि नरहेको स्थानीय जलारीहरुको भनाइ छ ।

नमूना आमा समूहकोतर्फबाट अध्यक्ष जुना अधिकारी र भलछोपुवा आमा समूहका अध्यक्ष विष्णुमाया सार्की लामिछानेको नेतृत्वमा आएका आमाहरुले फेवा रहेमात्र पोखराको अस्तित्व रहने भन्दै निरन्तर सफाइ अभियानमा जुट्ने बताए ।
लेकसाइड मदिरा व्यवसायी समितिले व्यवसायसँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्ने अध्यक्ष देवकोटाले बताए ।

प्रकाशित मिति २०८० असार २३ गते शनिबार ०७:२२




