पोखरा
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा उपभोक्ता समितिमार्फत बनिरहेको सडक स्तरोन्नतिको भुक्तानी वडाले सिफारिस गर्न नसक्ने जनाएको छ ।
आइतबार साँझ करिब ६ बजेतिर भुक्तानीका लागि उपभोक्ता समिति अध्यक्ष अमृत गुरुङले सिफारिस माग गरेको तर, कागजात पुर्याउन नसकेकाले दिन नसकिने वडाध्यक्ष राम गुरुङले जानकारी दिएका छन् । उपभोक्ता समिति अध्यक्ष भण्डारीले इमेलमार्फत भुक्तानी सिफारिसका लागि पत्राचार गरेको थिए । सोही पत्रको प्रत्युत्तर दिँदै वडाध्यक्ष गुरुङले ल्याब टेस्टको रिपोर्ट, इन्जिनियरिङ स्टिमेट, प्राविधिक कार्य सम्पन्नताको प्रतिवेदन प्रतिलिपि, उपभोक्ता समितिको बैठकको निर्णय लगायत माग गरेका थिए ।
तर, तोकिएका कागजात पुर्याउन नसकिएको भन्दै वडाध्यक्ष गुरुङले सिफारिस दिन नसकिएको जानकारी दिए । माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र ८ वडा जोड्ने गरी बनेको उक्त बाटो स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २१ लाख ५४ हजार रुपैयाँ बजेट परेको थियो ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र ८ जोड्ने उक्त सडक स्तरोन्नति गर्न वडा नं ७ का अमृत भण्डारी गत चैत १४ गते अध्यक्ष चुनिएका थिए । महालेखा परीक्षक नियन्त्रकको कार्यालयले सोमबारदेखि प्रदेश तथा स्थानीय तहको खाता कारोबार नहुने गरी एक साताका लागि बन्द गरिदिइसकेको छ । सरकारले तोकेको समयसम्म भुक्तानी नभएमा उक्त भुक्तानीसमेत रोक्का हुनेछ ।
केही दिनअघिमात्रै काम समयमा नसकेको भन्दै वडाध्यक्ष गुरुङले उपभोक्ता समिति अध्यक्ष भण्डारीमाथि हातपात गरेको आरोप लगाएका थिए । हातपात गरेको भन्दै नेकपा एमाले वडा कमिटीले वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।
हातपातकै विषयमा वडाध्यक्ष गुरुङ प्रहरी नियन्त्रणमा परेका थिए । उनी ४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
प्रकाशित मिति २०८० असार २५ गते सोमबार ०४:०५




