पोखरा
पहिलो र दोस्रो विश्वयुद्वमा ८० हजार बढी गोरखा सैनिकले ज्यान गुमाएको तथ्यांक छ ।
तिनै विश्वयुद्वमा ज्यान गुमाएका ८० हजार नेपालीको सम्झनामा स्याङ्जामा समाधिस्थल बनिरहेको छ ।
तर, बनाउन सुरु गरेको करिब एक दशक कटिसक्दासमेत पूरा हुन सकेको छैन, बरु बिजोग लाग्ने गरी अलपत्र छ ।
स्याङजाको फेदीखोला गाउँपालिका–१ साँल्मेडाँडामा गोरखा स्मारक निर्माण सुरु भएको १० वर्ष भयो ।
२०७० असार ९ गतेदेखि निर्माण थालिएको गोरखा स्मारकको कामले तिब्रता नपाउँदा अलपत्र परेको हो ।
गोरखा भूपू सैनिक संघ (गेसो) ले ८० हजार विर गोर्खालीको समाधिस्थल एक ठाउँमा बनाउने परिकल्पना गरेर काम सुरु गरेको थियो ।
नेपाल सरकारले हस्तक्षेप गरेपछि काम अलपत्र परेको गेसोका सभापति पदमबहादुर गुरुङले बताए ।
‘वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालको डिजाइनमा विश्वको सरकोर रहने बहुउदेश्यिय परियोजना गोरखासमाधि बनाउँदै थियौं ।
बेलायत सरकारको प्रलोभनमा नेपाल सरकारले लगानी गर्दा अलपत्र प¥यो’, गुरुङको आरोप छ ।
हालसम्म करिब १५ करोड रुपैयाँ लगानी भएको छ । जसमा नेपाल सरकारले ८ करोड लगानी गरेको गुरुङले जानकारी दिए ।
गोरखा भूपू सैनिक संघले ७ करोड लगानी गरेको छ ।
समाधिस्थल निर्माणको कामले पनि पूर्णता पाएको छैन । तर, निर्माण पूरा नहुँदै कतिपय संरचना भत्कन थालेको छ ।
गोरखा स्मारकलाई अन्तर्राष्ट्रिय मापदण्ड बनाएर बेलायतको प्रधानमन्त्री ल्याउने तयारी गरेकोमा नेपाल सरकारले हस्तक्षेप गरेको गुरुङको आरोप छ ।
५ चरणमा काम सक्ने गरेर साल्मेडाँडाको गोरखा समाधिस्थलाई पर्यटकीय स्थल बनाउने योजना थियो ।
२० अर्ब लागत अनुमान गरिएको थियो । पहिलो चरणमा ८० हजार बढीको सम्झनामा गोरखा समाधि निर्माण गर्ने योजना थियो ।
दोस्रो चरणमा बहुलजातीय संग्रहालय निर्माणको योजना बुनेको गेसोमा डिजाइनमा तेस्रो चरणमा बहुलजातीय साँस्कृतिकग्राम बनाउने भनिएको छ ।
चौथो चरणमा नेपालकै सबैभन्दा अग्लो गोरखा टावर निर्माण गरी विश्वका पर्यटकको ध्यान तान्ने लक्ष्य छ ।
पाँचौं चरणमा सुस्त गतिमा चल्ने पाँच डिब्बाको पहाडी रेल सञ्चालन गर्ने योजना भएपनि कार्यन्वयन हुने सम्भावना छैन ।
पहिलो चरणको गोरखा समाधि निर्माण गर्दा नै काम अलपत्र भएको छ ।
प्रकाशित मिति २०८० असार २९ गते शुक्रबार ०७:४४




