काठमाडौं
श्रीलंकामा चलिरहेको एसीसी इमर्जिङ टिम्स कपमा आफ्नो पहिलो खेलमा पाकिस्तान एसँग नेपाल ४ विकेटले पराजित भएको छ ।
कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा जितका लागि पाएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर भेटाएको हो । नेपालका लागि पवन सराफले ओपनर हसिबुल्ला खानलाई १२ रनमा गुल्सन झाको हातबाट र अर्का ओपनर सइम अयुबलाई पनि २४ रनमा बाउन्ड्री लाइनमा प्रतिस्थापन भएर आएका सन्दीप जोराको हातबाट क्याच आउट गराएका थिए ।
हसिबुल्लले २३ बलमा १ चौका सहित १२ रन बनाए । पहिलो बलमा नै सोमपाल कामीको बलमा स्लिपमा बसेका कुशल भुर्तेलले उनको क्याच लिन सकेका थिएनन् । पहिलो बलमा नै जीवन दान पाएका उनी ७.१ ओभरमा क्याच आउट भए । पाकिस्तानका अर्का ब्याटर वमिर बिन युसुफ ३६ रनमा आउट भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो । सुरुमा पाकिस्तानी बलर मोहम्मद वासिम जुनिय र शहनवाज दहानीको बलिङसामु नेपालको इनिङ्स धर्मराएको थियो ।
सुरुवाती १० ओभरभित्रै ६ विकेट गुमाएको नेपालले त्यसपछि १६ ओभरभित्र ८ विकेट गुमाइसकेको थियो । तर सोमपाल र प्रतिशले इनिङ्स सम्हालेपछि नेपालले ३७ ओभरसम्म ब्याटिङ गर्न सफल भयो । नेपालका लागि नवौं नम्बरमा ब्याटिङ गरेका सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । उनले १०१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरेका थिए ।
नेपाललाई अलआउट गर्न पाकिस्तान ए का लागि दहानीले १० ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चेर ५ विकेट लिए । यस्तै मोहमद वासिम जुनियरले १० ओभरमा १ मेडन राख्दै ५१ रन खर्चेर ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।
प्रकाशित मिति २०८० असार २९ गते शुक्रबार ०८:१९




