बागलुङ
कृषि ज्ञान केन्द्र बागलुङ, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङ र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बागलुङले संयुक्त रुपमा आर्थिक वर्ष २०७९-८० को प्रगती सार्वजनिक गरेका छन् ।
उक्त आर्थिक वर्षमा कृषि र पशु क्षेत्रमा किसानलाई प्रदान गरिएको अनुदान, कृषिमा आधुनिकरण, पशुको रोग तथा उपचार र जग्गाको चक्लाबन्दी लगायतको काम गरेको संयुक्त कार्यक्रममा बताइएको छ ।
प्रगती सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले असली किसानले राहत पाउन आवश्यक रहेको बताए । थापाले कृषि ज्ञान केन्द्र बागलुङ, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङ र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बागलुङले लिएको कार्यक्रमले किसानलाई कृषि तथा पशुपालनमा प्रोत्साहन गरिरहेको सुनाए ।
कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जिल्लामा असार मसान्त सम्म ६५ प्रतिशत रोपाई भएको कार्यक्रममा जानकारी गर्राका थिए । उनले उक्त आर्थिक वर्षमा पाँच हजार सुन्तलाका विरुवा र तीन हजार कागतीका विरुवा वितरण गरेको बताए ।
भेटेनेरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले उक्त आर्थिक वर्षमा लम्पी स्किन रोगले १६६ गाई तथा गोरुको मृत्यु भएको जानकारी दिए । उनले जिल्लाभर एक वर्षमा एक हजार ८३८ गाईभैसीलाई कृत्रिम गर्भाधान गराइएको बताए । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका प्रमुख सुजित पौडेलले चक्लाबन्दीमा किसान आर्कषित भइरहेको बताए ।
सार्वजनिक कार्यक्रम प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षता, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाको स्वागत तथा बागबानी विकास अधिकृत कुमार पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति २०८० साउन १ गते सोमबार ०३:३५




