पोखरा
व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ ।
नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि इजरायल जान लागेकी हुन् । सावित्रा अगष्ट १ मा ईजरायल जानेछिन् ।
सिंहदरबारमा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ,अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले बिदाइ गरेका हुन् ।
हापोएल रानानाले सावित्रासँग सम्झौता गरिसकेको छ । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।
नेपाल मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक रहेकी सावित्राले लामो समयदेखि युरोपमा खेल्ने सपना राखेकी थिइन् र त्यसका लागि उपयुक्त अवसरको खोजीमा थिइन् । युरोपमा खेल्ने आफ्नो सपना पूरा हुन लागेको भन्दै सावित्राले खुसी व्यक्त गरिन् ।
प्रकाशित मिति २०८० साउन ३ गते बुधबार ०२:३२




