बागलुङ
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारी गरी ३ जनालाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलाशले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा राख्न बिहीबार आदेश दिएको हो ।
सहकारीले १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै १ हजार ४ सय ८१ जना बचतकर्ताले १ अर्ब ३० करोड रुपैयाँ बिगो दाबी गर्दै सहकारीका कर्मचारी र सञ्चालकसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता भएको थियो ।
उनीहरुले अदालतमा असार २५ गते ठगी मुद्दा दर्ता गरेका थिए ।
बचतकर्ताको उजुरीपछि प्रहरीले सञ्चालक चित्रबहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट प्रहरीले पक्राउ गरेका थियो ।
असार ११ गते इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई पक्राउ गरेको थियो ।
सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका देवकुमार नेपाली, गलकोट नगरपालिका–११ की रुपा विक, ढोरपाटन नगरपालिका–१ का डोरबहादुर परियार, ढोरपाटन १ का सुनिल नेपाली सोही ठाउँकै अनिल नेपाली, निसीखोला गाउँपालिका–२, बोहोरागाउँका झगबहादुर शाही र निसीखोला गाउँपालिका–१ की अनिता बुढामगर फरार छन् ।
सहकारीका सञ्चालक र कर्मचारीलाई ८ देखि १० वर्ष कैद सजायको माग गरेर मुद्दा दर्ता गराएको जिल्ला न्यायधिवक्ता स्वतन्त्र न्यौपानेले जानकारी दिए ।
बचत कर्ताको अरबौं रकम हिनामिना पारेर सहकारीका संस्थापक अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख नेपाली डेढ महिनादेखि सम्पर्कविहीन छन् ।
नेपाली बेपत्ता भएपछि बचतकर्ताहरू चरणवद्ध आन्दोलनमा छन् ।
प्रकाशित मिति २०८० साउन ४ गते बिहीबार ०८:२१




