२०८३ साउन २१ गते बिहीबार

पोखरा–२१ कृस्तिमा छोरी बनाएर कीर्ते नागरिकता दिलाएको घटनाको अनुसन्धान थालियो

पोखरा–२१ कृस्तिमा छोरी बनाएर कीर्ते नागरिकता दिलाएको घटनाको अनुसन्धान थालियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १० गते बुधबार ०२:००

नागरिकता पाएकी रश्मी अहिले क्यान्सरको चौथो चरणबाट गुज्रिरहेको र उनलाई बचाउनकै लागि सरकारबाट राहत पाइन्छ कि भनेर नागरिकता दिलाएको प्रशासनमा बयान दिएका छन् ।

नागरिकता पाउने क्यान्सरसँग जुध्दै, दिलाउने परिवार प्रशासन धाउँदै

पोखरा

पोखरा–२१ कृस्तिमा आफन्तको छोरीलाई बाबुआमा र दाजु बनेर नागरिकता दिलाएको घटना बाहिरिएको छ । सालीको छोरीलाई ल्याएर सानैदेखि पालनपोषण गरेका परिवारले बाबुआमा बनेर नागरिकता पनि दिलाएको घटना बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुसन्धान थालेको हो ।

पोखरा–२१ कृस्तिका ज्ञानबहादुर रानाभाट र श्रीमती ताराले आफ्नो छोरी दावी गर्दै सालीको छोरी रश्मी रानाभाटको नाममा नागरिकता दिलाएका हुन् । ज्ञानबहादुर दम्पतीको छोरी छैनन् । उनीहरुले ज्ञानबहादुरकी श्रीमती ताराकी बहिनीको छोरी भारतमा अनाथ भएपछि ६ कक्षा पढ्दादेखि नै ल्याएर हुर्काएको र उनलाई बचाउनकै लागि नागरिकता दिलाएको स्वीकारेका छन् ।

नागरिकता पाएकी रश्मी अहिले क्यान्सरको चौथो चरणबाट गुज्रिरहेको र उनलाई बचाउनकै लागि सरकारबाट राहत पाइन्छ कि भनेर नागरिकता दिलाएको प्रशासनमा बयान दिएका छन् । पोखरा–२१ को वडा सदस्य तथा त्यो बेलाकी कार्यबहाक अध्यक्ष विमला केसी चालिसेको सिफारिसमा रश्मीले गत पुस २१ गते नागरिकता प्राप्त गरेकी हुन् ।

उनीहरुले कागजी प्रक्रिया भने सबै पूरा गरेको पाइएको छ । २०७५ सालमा अनलाइनमार्फत ज्ञानबहादुर रानाभाट बुबा र तारा रानाभाट आमा भएको उल्लेख गर्दै रश्मीको जन्मदर्ता भएको थियो । प्रवेशिका पास गरेकी रश्मीको शैक्षिक प्रमाणपत्रमा पनि सोही ब्यहोरा उल्लेख छ । उनीहरुका अनुसार अहिले नागरिक प्राप्त गर्ने रश्मीको बाबुआमा दुबै बितिसकेका छन् ।

पारिवारिक अवस्था पनि विपन्न रहेका, नागरिकता लिने रश्मी पनि क्यान्सर पीडित रहेको एकातिरको पाटो भए पनि नक्कली बाबुआमा बनेर नागरिकता दिलाउनुलाई नेपालको कानुनले अपराध नै ठान्छ । कीर्ते नागरिकताका लागि सिफारिस गर्ने जनप्रतिनिधिदेखि जिल्ला प्रशासन कार्यालयका अधिकारीसम्मलाई यो विषयले अहिले तनाब सिर्जना गराएको छ । भवनात्मक पाटो हेर्दा दयालाग्दो भए पनि नक्कली बाबुआमा बनाएर नागरिकता दिलाउनु अपराध भएकाले अहिले प्रशासनले उनको परिवारको बयान लिन थालेको छ भने नागरिकतासमेत फिर्ता लिएको छ । वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीले सबै प्रक्रिया र कागजात पूरा गरेर आएकाले शंका गर्ने आधारै नभेटेको बताए । डिएनए गरेर नागरिकता सिफारिस गर्न नसकिने उनको जवाफ थियो । तर, आफ्नै गाउँठाउँमा घटनाबारे जनप्रतिनिधिलाई थाहा हुने र यसबारे लुकाउन खोजेको आरोप छिमेकीको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले अनुसन्धान प्रक्रिया सुरु गर्दै नागरिकता दिलाउने परिवारको बयान लिन थालिएको बताए । कागजी प्रक्रिया सबै पुर्याएको बताउँदै घिमिरेले कानुनी हिसाबले नजानेरै भए पनि गल्ती भए कारबाही हुने सिडिओ घिमिरेको भनाइ थियो ।

प्रकाशित मिति २०८० साउन १० गते बुधबार ०२:००
हजुरको प्रतिक्रिया