पोखरा
अध्यागमन कार्यालय पोखराले आर्थिक वर्ष ७९/८० मा मात्र ७ हजार ९३४ जनाको भिसा जारी गरेको छ । अध्यागमन कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा २ करोड बढी राजश्व संकलन पनि गरेको छ ।
पर्यटकको आवातजावतमा सहजताका लागि पोखरा ड्यामसाइडमा रहेको अध्यागमन कार्यालयल पोखराले पर्यटक भिसा, गैरपर्यटक भिसामा नाताका आधारमा, वैवाहिक आधारमा तथा गैरआवसीय भिसा जारी गर्छ । साथै पर्यटकलाई नेपालका विभिन्न १५ ठाउँमा पदयात्रा अनुमति पनि दिन्छ ।
पोखरासहित देशभर विभिन्न सिमाना, विमानस्थलमा गरेर अन्य १३ वटा अध्यागमन विभाग अन्तर्गतका कार्यालयहरू छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना पछि गत असार ६ गते चीनको छेन्दुबाट पोखराका लागि पहिलो व्यवसायिक उडान भएको थियो । जसमा आएका पर्यटकका लागि विमानस्थलमा खडा गरिएको अध्यागमन कार्यालयले पहिलो पटक पर्यटक भिसा जारी गरेको थियो ।
त्यसबाहेक हालसम्म अध्यागमन कार्यालय पोखराले मात्र यस क्षेत्रमा पर्यटकका लागि विभिन्न प्रकारका भिसा जारी गरेको छ । अहिले कार्यालयमा दैनिक रुपमा ४० देखि ५० पर्यटक भिसाका कामले सेवाग्राही आउने गरेका छन् । कोभिड महामारीले केही समय ठप्प परेको राजस्व संकलनले अहिले गति लिन थालेको प्रमुख नवराज शर्मा दोरङगाले बताए ।
प्रमुख दोरङ्गाले देशभित्र पर्यटकको सरदर बसाइ अवधि बढाउने लक्ष्य हुँदा पदयात्रा स्वीकृत लिन आउने पर्यटकका लागि सेवा प्रवाह सहज बनाउने प्रयत्न भइरहेको बताए । उनले आर्थिक विकासको खम्बा पर्यटन रहेकाले पर्यटकीय गतिविधि बढाउन अध्यागमन कार्यालय पोखराले गर्नुपर्ने भुमिकामा समन्वय गरेको जिकिर गरे ।
प्रकाशित मिति २०८० साउन १४ गते आइतबार ०१:५२




