१० दिन भित्र अस्थायी पुल बनाइने
पोखरा
पोखरा महानगरपालिका ३२ को बडहरे जाने बाटोमा तालखोलाको जीर्ण पुल हटाएर अस्थायी पुल बनाइने भएको छ । पब्लिक टेलिभिजनको कार्यक्रम गण्डकी छड्केमा पुल जीर्ण बन्दा स्थानीयले खेप्नु परेको सास्तीलाई उजागर गरेपछि गण्डकी प्रदेश सरकारको ध्यान पुलमा परेको छ । पाँच वर्ष अघि पुल भाचिएपछि स्थानीय जोखिम मोलेर आवत जावत गर्न बाध्य थिए ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको टोलीले आइतबार जोखिमयुक्त पुलको स्थलगत निरीक्षण गरेर तत्कालै अस्थायी पुल बनाउने निर्णय गरेको हो । मन्त्री रेशमबहादुर जुग्जालीले चासो दिएर आफै निरीक्षणमा गई अस्थायी पुल बनाउन अगुवाइ गरेका हुन् । सो ठाउँमा दश दिनभित्र सम्पन्न हुने गरी अस्थायी फलामको पुल बनाउन पूर्वाधार विकास कार्यालय कास्कीलाई निर्देशन दिएको मन्त्री जुग्जालीले बताए । पोखरा–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले पक्की पुल बनाउन तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन बजेट अभावमा कार्यान्वयन नभएको बताए । दिर्घकालीन समस्या समाधानका लागि पक्की मोटरेबल पुल बनाउन मन्त्रालयको टोलीसँग छलफल गरेको उनको भनाइ छ ।

तालखोलामा आवत जावत गर्न बनाइएको पक्की कल्भर्ट भत्किएपछि बडहरेका २ सय घरधुरी र ब्रह्मरुपा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ६० जना भन्दा बढी विद्यार्थीहरु तीन वर्षदेखि जोखिम मोलेर आवतजावत गर्दै आएका छन् । आधा भाग भत्किएर खोलामा खसेको पुलको सल्यामाथि राखिएको बाँस र काठमा टेकेर जोखिमपूर्ण तवरले वारपार गर्नुपर्ने अवस्था छ ।
प्रकाशित मिति २०८० साउन १५ गते सोमबार ०७:५५




