२०८३ साउन २१ गते बिहीबार

हृदयले पनि देख्छ संसार…

विनाेद ढुंगाना

@Public 4K Tv

२०८० साउन १५ गते सोमबार ०६:३३

उनले उडान मात्रै भरिनन्, बादललाई छुँदै हृदयबाटै हर्पन खोला हेरिन्, विशाल हरियालाी फाँट हेरिन्, निलाम्मे फैलिएको ताल हेरिन् । सेताम्मे हिमाल हेरिन् ।

पोखरा

हरियाली वातावरणमा खुलेको पोखराको मौसम । बादलको बर्को ओडेको माछापुच्छ्रे अन्नपूर्ण हिमशृंखला ।

निलो आकाशमा छरिएका सेता बादलका टुक्राले रोमाञ्चक दृश्य । यही रोमाञ्चक दृश्यमा चाँदनी शर्माले मान्द्रेढुंगाबाट प्याराग्लाइडिङको उडान भरिन् ।

हावामा उड्दै धर्तीभन्दा माथि बादलसँगै सयर गरेको यो उनको पहिलो अनुभव थियो ।

कुनै दिन हावामा कावा खाँदै पोखराको आकाशमा फन्को मारुँला भन्ने उनको कल्पनाभन्दा दूर थियो । तर, सोमबार दिउँसो प्याराग्लाइडिङको पहिलो उडान भरिन् ।

‘यो आकाशमा उड्ने कुरा कस्तो होला भन्ने लाग्थ्यो । इम्याजिन नै थिएन । आज नयाँ अनुभव गर्न पाएँ, एकदमै खुशी छु’, पामेको हर्पनखोला किनारमा अवतरण गरेपछि शर्माले अनुभव साटिन् ।

बाग्लुङ जैमिनीकी चाँदनी ब्लाइन्ड रक्सले दृष्टिविहीनलाई प्याराग्लाइडिङ गराउँदैछ भन्नेबारे जानकार थिइन् । तर, आफैंले गर्न पाउने आइतबारमात्रै टुंगो लाग्यो । त्यसपछि उनको उत्साहको उचाइ बादलभन्दा माथि पुग्यो ।

‘प्याराग्लाइडिङ गर्ने भनेपछि ए आकाशमाथि कस्तो होला भन्ने थियो । आफूले त नदेखेपछि आकाशमा के हुन्छ होला भन्ने थियो,’ चाँदनीले भनिन्, ‘प्याराग्लाइडिङ गर्दा नर्मल्ली गाडीमा यात्रा गर्दाखेरि सिटमा बस्दाको फिलिङ्स जस्तै हुने रहेछ । त्यो फ्रेस हावा फिल गर्न पाइयो ।’

प्याराग्लाइडिङको मज्जा लिन दृष्टिविहीन सबैलाई चाँदनीले सुुझाइन् ।

‘हाम्रो समाजले दृष्टिविहीनलाई हेर्ने दृष्टिकोण फरक नै छ । केही गर्न सक्दैनन् भन्ने सोचाइ छ । अनुभव सबै कुराको लिनुपर्छ साथीहरु । एकपटक प्याराग्लाइडिङ गर्नुहोला !’ उनको सुझाव छ ।

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटरको रुपमा कार्यरत सुनिता दवाडी प्याराग्लाइडिङको मज्जा लिन आइतबार पोखरा आइन् ।

उनलाई पोखरा आएपछि मौसमले साथ नदेला कि चिन्ता सतायो । सोमबार उनको समूहलाई आकाशमा उड्न मौसमले बादलको टुक्रा बिछ्याएर स्वागत ग¥यो ।

‘धेरै जनाको धेरै थरी कुरा सुनियो तर के होला ? कस्तो होला ? लाग्यो । उड्ने बेलासम्म पनि सहज हुन्छ कि हुँदैन भन्ने थियो । सबैको सपोर्टले एकदमै राम्रो भयो’, फुरुगं हँुदै उनले भनिन्, ‘आकाशमा त एकदम रमाइलो भयो । जब हावाको प्रेसरले माथि गाको पनि ठ्याक्कै थाहा हुने । डिरेक्सन चेन्ज भाको पनि थाहा भो । सनिस पाइलटसँग गफ गर्दै उडें, एकदम रमाइलो भो ।’

ब्लाइन्ड रक्सले दृष्टिविहीनलाई प्याराग्लाइडिङ गराउने योजना बुन्दै थियो ।

त्यतिबेला नै उनी हावाको गतिमा आकाशमा उड्न आतुर बनिन् । ‘कहिलेचाहिँ उड्न पाइएला भाको थियो’, सुनिता स्मरण गर्छिन् ।

ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष सृष्टि केसीले दोस्रो पटक प्याराग्लाइडिङको उडान भरिन् ।

उनले उडान मात्रै भरिनन्, बादललाई छुँदै हृदयबाटै हर्पन खोला हेरिन्, विशाल हरियालाी फाँट हेरिन्, निलाम्मे फैलिएको ताल हेरिन् । सेताम्मे हिमाल हेरिन् ।

‘उहाँ (पाइलट) ले मलाई बादल छुआउन लैजानुभो । मैले बादल छोइराको थिएँ । एउटा सपना हुन्छ नि जीवनमा बादलमाथि पुग्ने, उचाईमाथि पुग्ने ! आज लिटरेल्ली बादल छोइराको थिएँ। बादलभित्र हामी हराइरहेका थियौं’, उनले भनिन् ।

बादलुले डम्म ढाकेको हिमाल पनि सृष्टिले छर्लंगै देखिन् । पाइलटले उनलाई देखिएजति सबै दृश्यको बखान गरे । सृष्टिले त्यसैलाई मनको दृष्टिले नियालिन् ।

‘पोखरा यति सुन्दर छ । मलाई उहाँ (पाइलट) ले बयान गर्दिनुभाथ्यो । तलको हर्पन खोला बगिराको छ भन्नुभाथ्यो’, उनले भनिन्, ‘त्यो सुन्दर दृश्यको अनुभूति गर्न पाएँ । मैले त्यो सुमधुर मन्धमन्ध चलेको शित्तल हावासँगै उहाँले गर्नुभएको वर्णन सबै कैद गरें ।’

सृष्टिले अगाडि थपिन्, ‘उहाँले त यो मौसममा त्यतिधेरै हिमाल देखिएको छैन भनिरहनुभाथ्यो । तर मैले त्यो छेकिरहेको हिमाल पनि मनबाट तानीतानी हेरिराको’थें ।’

यसअगाडि ब्लाइन्ड रक्सले आफ्ना सदस्यलाई रक क्लाइमबिङ र ¥याफटिङ गराइसकेको सृष्टिले जानकारी गराइन् ।

करिब पाँच वर्ष अगाडि सृष्टिले पोखराकै आकशमा फेवातालमाथि फन्को मारेकी थिइन् ।

उनलाई उचाइ पुग्दाको अनुभव गराउने रहर जाग्यो ।

त्यतिबेला नै दृष्टिविहीन साथीलाई प्याराग्लाइडिङ गराउने सपना देखेको बताइन् ।

जीवनको उचाइ र सफलतामा पुग्नका लागि अपांगता दृष्टिविहीनाले छेक्दैन सन्देश फैलाउन प्याराग्लाइडिङ उडाएको उनको भनाइ छ ।

‘जीवनमा सपना देख्नका लागि आँखा होइन हिम्मत चाहिन्छ, आत्मबल चाहिन्छ । र त्यो कहिल्यैपनि अपांगता हुँदैन’, उनको अनुभवले भन्छ ।

ब्लाइन्ड रक्सले १२ जनालाई प्याराग्लाइडिङ उडाएको हो । त्यसमा २ जना विदेशीसहित १० जना दृष्टिविहीन सहभागी बने ।

दोस्रो पटक नेपाल आएका अष्ट्रियाका थोमसले पनि पोखराको आकाशमा फन्को मारे ।

प्याराग्लाइडिङको अनुभवले उनी निकै रोमाञ्चित भए ।

उनले भने, ‘मैले पहिलो पटक प्याराग्लाइडिङ गरें । भरपूर मज्जा लिएँ । देखेरमात्रै मज्जा लिइदैंन । मैले महसुस गरेर मज्जा लिएको छु ।’

प्याराग्लाइडिङमा उड्दै ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष सृष्टि केसी । तस्बिरः विनोद ढुंगाना/पब्लिक टिभी

प्याराग्लाडिङ अवतरण गरेपछि प्यारापाइलटको साथमा  चाँदनी शर्मा । तस्बिरः विनोद ढुंगाना/पब्लिक टिभी

प्याराग्लाइडिङ उडानपछि सामूहिक तस्वीर खिचाउँदै । तस्बिरः विकास मगर/पब्लिक टिभी

 

प्रकाशित मिति २०८० साउन १५ गते सोमबार ०६:३३
हजुरको प्रतिक्रिया