२०८३ कात्तिक ११ गते मंगलबार

जटिल बन्दै पोखराको फोहोर व्यवस्थापन, ६ दिनदेखि सडकमै थुप्रियो फोहोर

जटिल बन्दै पोखराको फोहोर व्यवस्थापन, ६ दिनदेखि सडकमै थुप्रियो फोहोर

विकास मगर

@Public 4K Tv

२०८० साउन १५ गते सोमबार ०६:४१

उनीहरुले दायर गरेको रिटउपर उच्च अदालतले शुक्रबार विपक्षी बनाइएको पोखरा महानगरपालिकालाई एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको छ ।

कारण देखाउन अदालतको परमादेश

पोखरा

फोहोर बोकेको गाडी ल्यान्डफिल साइट पुग्न नपाएपछि महानगरले माइकिङ गरेर सडकमा फोहोर नफाल्न सूचना दिन सुरु गरेको छ ।

फोहोर व्यवस्थापनको टुंगो नलाग्दासम्म घरमै व्यवस्थापन गर्न, फोहोर सडकमा फाले कानुनी कारवाही गर्ने भन्दै महानगर नगर प्रहरीले माइकिङ गर्न थालेका हुन् ।

अस्थायी ल्यान्डफिल साइटका स्थानीयले अवरोध गरेपछि पोखरा महानगरको फोहोर ६ दिनदेखि उठ्न सकेको छैन ।

६ महिनाका लागि अस्थायी रुपमा फोहोर फाल्ने, फोहोर विसर्जन गरिसकेपछि माटोले पुर्नेलगायत सहमति भए पनि लागू नभएको भन्दै स्थानीयले बुधबारबाट फोहोर फाल्न रोक लगाएका हुन् ।

शनिबार राति परेको भारी वर्षाले बाटोमा फ्याँकिएका सबै फोहोर बगाएर दुर्गन्धित बनाएको थियो ।

फोहोर व्यवस्थापन नगरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि महानगरले आइतबार मुख्य बजार क्षेत्रका सडकमा फालिएका ४ गाडी फोहोर संकलन गरेको थियो ।

संकलित फोहोर भने ल्यान्डफिल साइट पु¥याइएको छैन ।

स्थानीयले अवरोध जारी राखेकाले हाललाई संकलित फोहोर गाडीमै राखेर दमकल शाखाको परिसरमा राखिएको महानगरले जनाएको छ । फोहोर कहिलेसम्म गाडीमै राख्ने टुंगो लागिसकेको छैन ।

महानगर सरसफाइ शाखा प्रमुख कल्पना बराल आफूहरु स्थानीयसँग छलफलमै रहेको जानकारी दिइन् ।

उनले केही विषय टुंगिन बाँकी रहेको र उक्त विवाद साम्य भएपछि फोहोर ल्यान्डफिल साइट पुग्ने बताइन् ।

पोखरा महानगरले पोखरा ३२, लामेआहालमा भएको अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ ।

महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो ।

तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो ।

ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण विमान दुर्घटनाको जोखिम हुनसक्ने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।

स्थानीयले बनाए संघर्ष समिति, अदालतमा रिट

पोखरा ३२, ल्यान्डफिल साइट क्षेत्रका स्थानीयले फोहोर फाल्न नदिन संघर्ष समिति बनाएका छन् ।

स्थानीय इच्छा गुरुङको नेतृत्वमा संघर्ष समिति बनाएर उनीहरुले फोहोर फाल्न नदिने बताएका छन् ।

सम्झौता अवधि सकिँदासम्म निन्तर फोहोर फालिरहेको र फोहोर फाल्ने काम तत्काल रोक्न स्थानीयले महानगरविरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेका छन् ।

स्थानीय रविन केसी, तिथेन्द्रबहादुर केसी र ब्रजेश गुरुङले बिहीबार उच्चमा रिट दायर गर्दै लामे आहालको खाल्टोमा कुनै फोहोर विसर्जन नगर्नु भन्दै अन्तरिम आदेश माग गरेका हुन् ।

रिटमा उनीहरूले फोहोर विसर्जन गर्दा फैलिएको दुर्गन्धले बस्न सक्ने अवस्था नरहेको उल्लेख गरेका छन् ।

उनीहरुले दायर गरेको रिटउपर उच्च अदालतले शुक्रबार विपक्षी बनाइएको पोखरा महानगरपालिकालाई एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको छ । साउन २१ गते सम्मको म्याद दिएर अदालतले कारण देखाऊ आदेश जारी गरेको हो ।

 

प्रकाशित मिति २०८० साउन १५ गते सोमबार ०६:४१
हजुरको प्रतिक्रिया