पोखरा
विश्व बैंकले पोखराका थप दुई परियोजनामा लगानी गर्ने भएको छ । विश्व बैंकले लगानी गर्ने परियोजनाको पोखरा महानगरपालिकाले छनोट समेत गरेको छ ।
नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत बिरौटा–पुडिँटार र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुदिखोला–गगनगौंडा सडक स्तरोन्नति गर्न महानगरले छनोट गरेको हो ।
सन् २०२६ मार्च ५ भित्र सम्पन्न गर्नेगरी दुई परियोजना छनोट गरेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।
‘विश्व बैंकको सहयोगमा हाल तालचोक–बेगनास सडक स्तरोन्नतिको काम भइरहेको छ । यसबाहेक थप दुई परियोजना छनोट गरेका छौं । तीनै वटा परियोजना अबको साढे २ वर्षमा सम्पन्न गर्नुपर्नेछ’, मेयर आचार्यले भने ।
तीन परियोजना सम्पन्न भएपछि पोखरामा नमुना सडक बन्ने उनको दाबी छ ।
महनगरपालिकाले दिएको जानकारी अनुसार तीन परियोजनामा विश्व बैंकले २५.६८ मिलियन अमेरिकी डलर अर्थात ९३ अर्ब ३७ करोड ९३ लाख १० हजार ८०८ रुपैयाँ लगानी गर्नेछ ।
निर्माणाधीन तालचोक–बेगनास सडकमा ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँ विश्व बैंकको लगानी हुनेछ । बिरौटा–पुडिटार सडक साढे १ अर्ब रुपैयाँ र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुदिखोला–गगनगौंडा सडक १ अर्ब रुपैयाँ लागतमा स्तरोन्नति हुनेछ ।
तालचोक–बेगनास सडकको ठेक्का समेत लागेको छ । स्वच्छन्द सपना विश्ववाइड जेभी काठमाण्डौले ठेक्का पाएको हो ।
हालै छनोट गरिएको २ परियोजना सर्वेक्षणका लागि प्राविधिक टोली खटाउने तयारीमा विश्व बैंक छ ।
प्रकाशित मिति २०८० साउन १७ गते बुधबार ०७:११




