मेयर आचार्य र चाइना रेलवे कम्पनीका प्राविधिकबीच छलफल
पोखरा
बहुचर्चित काठमाडौं–केरुङ अन्तर्देशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
रेलमार्गको विस्तृत अध्ययनका लागि तथ्यांक संकलन गरिरहेको टोलीले शुक्रबार मेयर आचार्यसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा चिनियाँ टोली अन्तरदेशीय रेलमार्गको साथै पोखराको औद्योगिक विकासमा पनि चासो देखाएका छन् ।
उनीहरुले पोखराको विकासको सम्भावना र जनशक्तिसहित परिचालनको विषयमा पनि साधेखोज गरेका थिए ।
कोरोना महामारीमा भगिनी सम्बन्धका हिसाबले चिनका विभिन्न सहरले पोखरालाई थुप्रै सहयोग गरेका थिए ।
चाइना रेलवे प्राविधिकले पोखराको पर्यटनको पनि जिज्ञासा राखेका थिए । उनीहरुले कोरोना भाइरसको संक्रमण पूर्व र पश्चात् चिनियाँ पर्यटकहरूको पोखरा आवागमनको दरको विषमा चासो व्यक्त गरेका थिए ।
छलफलका मेयर आचार्यले परियोजनाको अध्ययन तथा निर्माणका लागि महानगर सघाउन तयार रहेको बताए । ‘यो परियोजनाअगाडि बढ्यो र अध्ययन तथा निर्माणका दौरानमा हाम्रो महानगरभित्र कुनै अवरोधहरू सृजना भएको खण्डमा तत्काल समाधान गरिनेछ,’ उनले भने, ‘स्थानीय सरकारको तर्फबाट विकासका सवालमा समन्वयात्मक भूमिका रहन्छ नै !’
पोखराले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेकाले त्यसमा पनि लगानी बढाउन सकिने मेयर आचार्यले टोलीलाई सुझाएका थिए ।
चीन सरकारको चाइना रेलवे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरू सम्मिलित टोलीले अध्ययन पश्चात् तीन वर्षमा विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरी पेस गर्ने जनाएको छ ।
टोलीका अनुसार पहिलो एक वर्षमा सर्भे सम्पन्न गरी डेढ वर्षभित्र फिल्डमा पुगेर सर्भे र म्यापिङ गरिनेछ । आगामी एक वर्षभित्र इन्जिनियरिङ अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिएर बुझाउने छ ।
काठमाडौँमा कार्यालय समेत खोलेरै काम सुरु गरेको चिनियाँ टोलीले हाल रेलमार्गको स्थलगत अवलोकन सहित अध्ययनको काम गरिरहेको छ ।
सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डिपिआरका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
प्रकाशित मिति २०८० साउन २० गते शनिबार ०६:३१




