२०८३ साउन २१ गते बिहीबार

पोखराको फोहोर अस्थायी ल्यान्डफिलमा विसर्जन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २३ गते मंगलबार ०९:४१

संघर्ष समितिका सचिव भुवानीप्रसाद पौडेलले स्थानीयलाई पाखा लगाएर प्रशासनको आडमा महानगरले फोहोर व्यवस्थापन गरेकाले त्यसको प्रतिकारमा उत्रने चेतावनी दिए । ‘कति दिन बल प्रयोग गरेर महानगरले फोहोर व्यवस्थापन गर्छ?’उनले प्रश्न गर्दै भने,‘ हाम्रो माग नै  दुर्गन्ध नआउने गरी उचित रुपमा फोहोर व्यवस्थापन गर्नुपर्दछ भन्ने हो । ’

सहमति बिना प्रशासनको आडमा फोहोर विसर्जन : स्थानीय

पोखरा

पोखरा महानगरपालिका भित्रको फोहोर पोखरा ३२ लामेआहालमा रहेको अस्थायी ल्यान्डफिलमै विसर्जन गर्न थालिएको छ । विगत ११ दिनदेखि स्थानीयले अवरोध गरेपछि फोहोर ल्यान्डफिल पुग्न सकेको थिएन् । फोहोर व्यवस्थापन गर्दा लापरवाही गरिएको, दुर्गन्ध फैलिएको तथा पूर्वाधार निर्माणमा महानगरले ध्यान नदिएको भन्दै स्थानीयले अवरोध गरेका थिए । आज बिहानैबाट फोहोर ल्यान्डफिल पुगेको पोखरा महानगर प्रमुख धनराज आचार्यका प्रेस संयोजक भीम थापाले बताए ।

उनका अनुसार ३० गाडी फोहोर ल्यान्डफिल पुगेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले लामेआहालमै फोहोर फाल्ने निर्णय गरेको थियो । स्थानीयले अवरोध गर्नसक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी परिचालन गरिएपनि विना अवरोध फोहोर विसर्जन भइरहेको थापाले बताए ।

स्थानीयको मागलाई सम्बोधन गर्न महानगरपालिकाले १६ बुँदै प्रतिबद्धता गरेको प्रवक्ता मोती तिमिल्सिनाले बताए । उनका अनुसार १६ बुँदै प्रतिबद्धता अक्षरस पालना गर्न महानगर कटिवद्ध रहेको छ । १६ बुँदमा स्थानीयले उठाएका मागहरुलाई समेटिएको उनको भनाइ छ ।
तर, स्थानीयले भने महानगरले आफूहरुसँग कुनै सहमति नगरी प्रशासनको आडमा फोहोर विसर्जन गरेको बताएका छन् । संघर्ष समितिका सचिव भुवानीप्रसाद पौडेलले स्थानीयलाई पाखा लगाएर प्रशासनको आडमा महानगरले फोहोर व्यवस्थापन गरेकाले त्यसको प्रतिकारमा उत्रने चेतावनी दिए । ‘कति दिन बल प्रयोग गरेर महानगरले फोहोर व्यवस्थापन गर्छ?’उनले प्रश्न गर्दै भने,‘ हाम्रो माग नै  दुर्गन्ध नआउने गरी उचित रुपमा फोहोर व्यवस्थापन गर्नुपर्दछ भन्ने हो । ’

स्थानीयमध्ये केहीले फोहोर फाल्न रोक लगाउन अन्तरिम आदेशको माग गरी उच्च अदालत पोखरामा मुद्दा दर्ता गरेकोमा अदालतले आइतबार अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको थियो । महानगरपालिकालाई लामेआहालमा फोहोर व्यवस्थापन गर्ने कानुनी बाटो समेत खुला भएको थियो । पोखरा महानगरपालिकाले पोखरा ३३ मा स्थायी ल्यान्डफिल साइड बनाउने निर्णय गरेपनि त्यसको कामले मुर्त रुप पाएको छैन ।

गत पुस १७ गतेदेखि पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरा १४ मा रहेको ल्यान्डफिल साइडमा विसर्जनहुँदै आएको फोहोर आमेआहालमा व्यवस्थापन गर्न थालिएको हो । ६ महिनाको लागि अस्थायी रुपमा फोहोर विसर्जन गर्ने भनिएको र छ महिना बितेकाले फोहोर फाल्न नदिने अडान स्थानीयले लिएका थिए ।

 

प्रकाशित मिति २०८० साउन २३ गते मंगलबार ०९:४१
हजुरको प्रतिक्रिया