गण्डकी प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १२७ पुग्याे
पाेखरा । कोरोना भाइरसको संक्रमणबाट पोखरामा स्याङजाका १ जनासहित थप ३ जनाको ज्यान गएको छ ।
बुधबार काेराेनाबाट ज्यान गुमाउनेमा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका १३ का ४६ बर्षीय काेराेना संक्रमित पुरूषकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारकै क्रममा बुधबार बिहान ज्यान गएकाे हाे । नीजमा गत कार्तिक २५ गते काेराेना पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएकाे छ ।
यसअघि बुधबार नै पोखरा महानगरपालिका वडा नम्बर ३ का ८३ वर्षीय वृद्धको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा कोरोना ज्यान गएको थियाे ।
उनमा कार्तिक २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्तै, पोखरा १७ की ७८ वर्षीय महिलाले समेत कोरोना संक्रमणबाट ज्यान गुमाएकी छिन् । उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार ज्यान गएको हो । उनलाई कार्तिक २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय २७ पुगेको छ ।
प्रकाशित मिति २०७७ मंसिर ३ गते बुधबार ०६:२१




