२०८३ असोज २४ गते शनिबार

ट्होंटेका अवसरमा मंगलबार पोखराका विद्यालय छुट्टी

ट्होंटेका अवसरमा मंगलबार पोखराका विद्यालय छुट्टी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २९ गते सोमबार ०७:३२

ट्होंटे गुरुङ समुदायले मनाउँदै आएको महत्वपूर्ण पर्वमध्ये प्रमुख मानिन्छ । यो वर्ष उभौली र उधौली गरी वर्षमा २ पटक मनाइने गरिएको छ ।

पोखरा

कास्कीमा भोलि मंगलबार गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होंटेका अवसरमा विद्यालय विदा हुने भएको छ । तमु धिं नेपालको अनुरोधमा भोलि शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले निजी तथा सरकारी विद्यालयलाई स्थानीय बिदाबाट कट्टी हुने गरी छुट्टी दिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उपसचिव लोकराज आचार्यले सोमबार एक विज्ञिप्ति जारी गर्दै सबै विद्यालयलाई बिदा दिइएको जनाएका छन् । ट्होंटे गुरुङ समुदायले मनाउँदै आएको महत्वपूर्ण पर्वमध्ये प्रमुख मानिन्छ । यो वर्ष उभौली र उधौली गरी वर्षमा २ पटक मनाइने गरिएको छ ।

चैत र साउनको अन्तिम मंगलबार धुमधामले यो पर्व मनाउने गरिन्छ । टोल–टोलबाट झाँकीसहित गुरुङ समुदायले हर्षोल्लासका साथ यो पर्व मनाउने गरेका छन् । तमु धिं नेपालको आह्वानमा टोल–टोलबाट विभिन्न गुरुङ संगठनका ब्यानर, गुरुङ समुदाय जातीय पोसाक तथा विभिन्न जनावरदेखि, भूत, प्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रङरोगन लगाएर रंगीबिरंगी झाँकी पोखरामा मनाउने तयारी भएको छ ।

ट्हाें को अर्थ गाउँ ठाउँ र टेंको अर्थ लखेट्नु हुन्छ । दुश्मनहरुलाई आतंकित पार्न र आफ्नो बस्तीबाट हटाउन सकिने विश्वासका साथ तमु समुदायले ट्होंटे पर्व मनाउने चलन छ । भूत प्रेत, पिचासलाई धपाएर बस्तीलाई शान्तिपूर्ण बनाउने पर्वको रुपमा लिइँदै आएको छ ।

प्रकाशित मिति २०८० साउन २९ गते सोमबार ०७:३२
हजुरको प्रतिक्रिया