पोखरा
गुरुङ समुदायले सांस्कृतिक पर्व ट्होंटे आज मनाउँदैछन् । उभौली र उद्यौली ट्होंटेका रुपमा यो पर्व वर्षको दुई पटक मनाउने गरिन्छ । पोखराका टोल–टोलबाट झाँकीसहितको रयाली प्रदर्शन गरेर गुरुङ समुदायले हर्षोल्लासका साथ चैत र साउनको अन्तिम मंगलबार धुमधामले यो पर्व मनाउने गरेका छन् ।
तमु धिं नेपालको आह्वानमा टोल–टोलबाट विभिन्न गुरुङ संघसंस्था ब्यानर, गुरुङ समुदाय जातीय पोसाक तथा विभिन्न जनावरदेखि, भूत, प्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रङरोगन लगाएर रंगीबिरंगी झाँकी पोखरामा मनाउने तयारी गरिएको तमुधिंका अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए ।
पोखरा ११ रानीपौवामा भेला भएर रयालीसहित तमु धिं नेपालको कार्यालय नयाँबजार पुगेर विशेष कार्यक्रम गरिने गुरुङले बताए । पोखरामा निकालिने झाँकीसहितको रयालीमा गुरुङ मात्र नभएर अन्य जाती तथा समुदाय पनि सहभागी हुने गरेका छन् ।
ट्हाें को अर्थ गाउँ ठाउँ र टेंको अर्थ लखेट्नु हुन्छ । दुश्मनहरुलाई आतंकित पार्न र आफ्नो बस्तीबाट हटाउन सकिने विश्वासका साथ तमु समुदायले ट्होंटे पर्व मनाउने चलन छ । भूत प्रेत, पिचासलाई धपाएर बस्तीलाई शान्तिपूर्ण बनाउने पर्वको रुपमा लिइँदै आएको छ ।
यसैबीच गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होंटेका अवसरमा आज विद्यालयमा बिदा दिइएको छ । तमु धिं नेपालको अनुरोधमा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले निजी तथा सरकारी विद्यालयलाई स्थानीय बिदाबाट कट्टी हुने गरी छुट्टी दिएको हो । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उपसचिव लोकराज आचार्यले सोमबार एक विज्ञिप्ति जारी गर्दै सबै विद्यालयलाई बिदा दिइएको जनाएका छन् ।
प्रकाशित मिति २०८० साउन ३० गते मंगलबार ०७:२७




