पोखरा
पोखराका गुरुङ समुदायले धुमाधामका साथ ट्होंटे पर्व मनाएका छन् । केटाकेटीदेखि बुढापाकसम्म भेला भएर ट्होंटे पर्व मनाएका हुन् ।
जातीय पोशाकमा सजिएर सडकमा बाजागाजासहितको साँस्कृतिक ¥याली प्रदर्शन गरिएको छ । रानीपौवाबाट निकालिएको र्याली महेन्द्रपुल, नयाँबजार हुँदै तमुधिंको केन्द्रीय कार्यालयसम्म पुग्यो ।
अनुहार रंगाएर भूतप्रेतको जस्तै बनाएर बाजाको तालमा नाँचे । मौलिक संस्कार संस्कृति समेत ट्होंटको अवसरमा प्रस्तुत गरिएको छ ।
ट्होंटे पर्व वर्षमा २ पटक मनाउने गरिन्छ । भूतप्रेत भगाउने र रोगब्याधी हटाउने विश्वासका साथ मनाउने ट्होंट खेती लगाउनु पहिले चैत्र महिनाको अन्तिम मंगलबार र खेती लगाएर सकेपछि साउन महिनाको अन्तिम मंगलबार मनाइन्छ ।
तमु धिं नेपालका साँस्कृति विभाग प्रमुख कृष्णकुमार गुरुङका अनुसार ट्होंका अर्थ राज्य र टे को अर्थ शत्रुहरु लखेट्ने यज्ञ हो । ‘रोगब्याध, प्राकृतिक प्रकोपहरु नओस् भन्ने हिसाबले यो पर्व मनाइन्छ’, उनले भने ।
बजार क्षेत्रमा सांकेतिक रुपमा हर्षोल्लासको साथ ट्होंटे मनाइने उनले बताए । ‘गाउँघरमा घरघरमा छिरेर घरभित्र भएका जति पनि नराम्रा शक्तिहरु हुन्छन् त्यसलाई निकालेर एकीकृत गाउँको दोबाटोमा लगेर बिर्सजन गर्ने अथवा गाडेर सेलाउने चलन हुन्छ’ गुरुङले भने, ‘यसको वास्तविक अर्थ गाउँघरलाई नराम्रो गर्ने प्रकोपलाई गाउँबाट बाहिर निकालेर सेलाउने भन्ने हो ।’




