काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुधबार दिउँसो ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनै पर्ने बताएका छन् । सरकारको असफलता र भ्रष्टाचारबारे स्वयं नेकपाबाटै लिखित आरोप लागिसकेपछि उनलाई हटाउनै पर्ने भट्टराइले उल्लेख गरेका छन् ।
भट्टराईले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले हस्तक्षेप गर्न खाेज्नु दूर्भाग्यपूर्ण रहेकाे बताएका छन् । ‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है: १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;२. ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ,’ भट्टराईले लेखेका छन् ।
यसअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा चुलिएको विवादबारे राष्ट्रपति भण्डारीले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै छलफल गरेकी थिइन्। चिनियाँ राजदूत यान्छीले भने मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्।
गत कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीले पार्टी र सरकारलाई सही दिशा दिन नसकेको आरोप लगाउँदै राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।प्रचण्डले लगाएका आरोपको जवाफ दिन प्रधानमन्त्री ओलीले समय मागेपछि आज बसेको नेकपा सचिवालय बैठक १० पछि फेरि बस्ने गरी सकिएको छ ।
प्रकाशित मिति २०७७ मंसिर ३ गते बुधबार ०६:४३




