२०८३ साउन २१ गते बिहीबार

गण्डकीकी सामाजिक विकासमन्त्री सिंखडाको सय दिने उपलब्धि सार्वजनिक

गण्डकीकी सामाजिक विकासमन्त्री सिंखडाको सय दिने  उपलब्धि सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ३१ गते बुधबार ०८:०२

सार्वजनिक गरेको मुख्य उपलब्धिमा अवलोकन, निरीक्षण, डकुमेन्ट्री तयार र अन्तरक्रियालाई समेटिएको छ । मन्त्री सिंखडाले मानवसेवा आश्रमको अवलोकनलाई उपलब्धिमा समावेश गरेकी छन् ।

अन्तरक्रिया, अवलोकन र डकुमेन्ट्री निर्माण पनि उपलब्धिमा समावेश

पोखरा

गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिम्खडाले मन्त्रालयको कार्यभार सम्हालेको सय दिन पूरा भएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे बैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट नेकपा माओवादी केन्द्रकी सुशिला सिम्खडा र नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारी विना विभागीय मन्त्री नियुक्त भएका थिए ।

मन्त्री बनेको १४ दिनपछि मन्त्रीपरिषद्ले पूर्ण पायो । सिम्खडाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाइन् । उनले मन्त्रालयको कार्यभार सम्हालेको सय दिनको मुख्य उपलब्धि ४६ बुँदामा समेटेर सार्वजनिक गरेकी छन् ।

स्वास्थ्य क्षेत्रतर्फको २२ र सामजिक विकासमा २४ बुँदामा मन्त्री सिंखडाले हनिमुनि पिरयडमा सम्पादन गरेको कामको सुची सार्वजनिक गरिएको हो । सार्वजनिक गरेको मुख्य उपलब्धिमा अवलोकन, निरीक्षण, डकुमेन्ट्री तयार र अन्तरक्रियालाई समेटिएको छ । मन्त्री सिंखडाले मानवसेवा आश्रमको अवलोकनलाई उपलब्धिमा समावेश गरेकी छन् ।

गण्डकी प्रदेश विकास स्वयंसेवक परिचालन कार्यविधि बमोजिमको रिक्त पदमा विभिन्न निकाय, कार्यालय र शैक्षिक संस्थाबाट आवश्यकताको माग संकलन गरेको उनले बताइन् । मन्त्रालयको जिम्मेवारी पाएपछि कास्कीमा २५ शैय्याको डायलासिस केन्द्र सञ्चालनमा ल्याएको बताइन् । उनका अनुसार दमौली, लमजुङ, स्याङजा र पर्वत जिल्ला अस्पतालमा २/२ थान डायलासिस मेसिन थप भएको छ ।

१० वर्षमुनि र ६० वर्ष माथिकालाई प्रदेश सरकार मातहात रहेका अस्पतालमा हुने प्रयोगशाला परिक्षणलाई निशुल्क गरिएको मन्त्री सिंखडाले जानकारी गराइन् । उनले कार्यभार सम्हालेपछि जोखिममा परेका ७ जना गर्भवती महिलाको हवाइ उद्वार गरिएको छ ।

आकस्मिक सेवा व्यवस्थापनलाई व्यवस्थित बनाउन १०२ नम्बरको एम्बुलेन्स सेवा सुरुवात भएको छ । गण्डकी प्रदेशमा तोकिएको २८ स्थानीय तहमा तयार परिएको पारिवारिक स्वास्थ्य प्रोफाइल उनको सय दिने उपलब्धि हो । सामाजिक विकासतर्फ स्थानीय तहमा सञ्चालन हुने कक्षा ८ को परीक्षालाई व्यवस्थित बनाउन आधारभूत तह (कक्षा १–८) उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८० र प्रदेशस्तरीय छात्रावृत्ति व्यवस्थापन कार्यविधि २०८० को मस्यौदा निर्माण मुख्य उपलब्धि हुन् ।

प्रदेश नमुना युवा सांसद अभ्यास, दलित महिला जनप्रतिनिधिसँगको २ दिने कार्यशाला, स्काउट प्रशिक्षण, स्थानीय तहसँगको अन्तरक्रिया, महिला अधिकारकर्मीको दौड, गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता, ४० जना महिलालाई १० दिने भलिबल प्रशिक्षण, गण्डकीका ओलम्यिनसँगको भेटघाट र अन्तरक्रिया, व्यवसायिक शिक्षा र तालिमको सञ्जाल गठन मन्त्री सिंखडाले सय दिनमा गरेका काम हुन् । मन्त्री सिंखडाले कार्यकालको मुख्य उपलब्धि बजेट निर्माण भएको बताएकी छन् ।

बजेट सार्वजनिक भएपछि प्रदेश सभामा मन्त्रालयगत छलफल हुँदा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको बजेट मन्त्री सिंखडाले आफ्नो क्षेत्रमा मात्रै हालेको र उपल्लो मुस्ताङमा एउटा पनि योजना नपरेको भन्दै सत्ता पक्षकै सांसदले चर्को अलोचना गर्दै राजीनामासमेत माग गरेका थिए ।

प्रकाशित मिति २०८० साउन ३१ गते बुधबार ०८:०२
हजुरको प्रतिक्रिया