पोखरा
अष्ट्रेलिया र स्विजरल्यान्डमा आयोजना भएको नवौं संस्करणको महिला विश्वकप फुटबलको फाइनल खेल मात्र बाँकी छ । विश्वकप उचाल्न स्पेन र बेलायतको महिला टोली आगामी अगष्ट २० मा आमनेसामने हुँदैछन् । नेपाली समय अनुसार स्पेन र बेलायतको खेल पौने ४ बजे हुनेछ । सन १९९१ देखि सुरु भएको महिला विश्वकपको यो संस्करणमा नयाँ विजेता पाउने निश्चित भएको छ । यी दुबै टोली पहिलोपटक फाइनल पुगेका हुन् ।
यसअघि पूर्वविजेताहरू अमेरिका प्रिक्वार्टरफाइनल, जर्मनी समूह चरण र जापान क्वार्टरफाइनलबाटै बाहिरिएपछि नयाँ विश्वविजेता पाउने निश्चित भएको हो । स्पेनले उपाधिकै दाबेदार मानिएको स्वीडेनलाई सेमिफाइनलमा २—१ गोलले हराएर फाइनल यात्रा तय गरेको हो भने बेलायतले आयोजक अष्टे«लियालाई ३—१ ले पाखा लगाउँदै स्पेनसँगको भेट पक्का गरेको हो ।
क्वार्टरफाइनल खेलमा स्पेनले बलियो टोली नेदरल्यान्डस्लाई हराएको थियो भने बेलायतले क्वार्टरफाइनलमा कोम्बियालाई पाखा लगाएको थियो । तेस्रो स्थानका लागि अष्टे«लिया र स्वीडेन भिड्ने भएका छन् । क्वार्टफाइनलमा अष्टे«लियाले फ्रान्स र स्वीडेनले जापानलाई पराजित गरी सेमिफाइनल यात्रा तय गरेका थिए । अष्ट्रेलिया र स्वीडेन खेल शनिबार नेपाली समय अनुसार पौने २ बजे हुनेछ । सन २०२३ को महिला विश्वकपमा ३२ राष्ट्र सहभागी भएका थिए । एसियाली मुलुक चीनमा सन १९९१ मा पहिलो पटक महिला विश्वकप भएको थियो । पहिलो संस्करणको उपाधि अमेरिकाले जितेको थियो भने नर्वे उपविजेता बनेको नियो । सन १९९५ मा स्वीडेनमा भएको दोस्रो महिला विश्वकपको उपाधि नर्वेले जित्यो भने जर्मनीले उपविजेतामा चित्त बुझायो ।
प्रत्येक ४/४ वर्षमा आयोजना हुने तेस्रो महिला विश्वकप अमेरिकामा आयोजना भयो भने उपाधि पनि अमेरिकाले नै जित्यो । तेस्रो संस्करणमा चीन उपविजेता बनेको नियो । चौंथो संस्करण पनि अमेरिकामै आयोजना हुँदा जर्मनी विजेता बन्यो भने स्वीडेन उपविजेता भयो । पाँचौ महिला विश्वकप दोस्रो पटक चीनमा आयोजना भएको थियो भने जर्मनी नै विजेता बनेको थियो । पाँचौमा ब्राजिलले उपविजेतामा चित्त बुझायो । छैंटौ संस्करणको महिला विश्वकप जर्मनीले आयोेजना गर्दा एसियाली देश जापान विजेता बन्यो भने अमेरिका उपविजेतामा सीमित भयो ।
सातौं विश्वकप क्यानडामा आयोजना भएको थियो । यो संस्करणमा अमेरिका विजेता र जापान उपविजेता भएका थिए । आठौं महिला विश्वकप फ्रान्सले आयोजना गर्दा अमेरिकाले चौंथो पटक विश्वकप उचालेको थियो भने नेदरल्यान्डस उपविजेता बन्यो । आठौं सम्मको महिला विश्वकपमा अमेरिकाले ४ पटक, जर्मनी दुई पटक, नर्वे र जापान एक/एक पटक उपाधि जितेका छन् ।
महिला विश्वकप फुटबल २०२३ को विजेताले १ सय १० मिलियन डलर (१४ अर्ब ४७ करोडरुपैयाँ ) पाउनेछ । पुरूष विश्वकपको भन्दा यो पुरस्कार निकै कम छ । सन २०२२ को पुरुष विश्व कप विजेता अर्जेन्टिनाले ४ सय ४० मिलियन डलर पुरस्कार पाएको थियो ।
प्रकाशित मिति २०८० साउन ३२ गते बिहीबार ०९:३४




