फिर्केखोला सीमांकन आइतबार सकिने
पोखरा
फिर्केखोला संरक्षणका लागि सीमांकन थालेको पोखरा महानगरले हालसम्मको सीमांकनमा १ सय १८ भन्दा बढी संरचना फिर्केखोला माथि बनेको भेटिएको जनाएको छ । महानगरले साउन ३ गतेदेखि अमिन बासुदेव पौडेलको नेतृत्वमा अतिक्रमणको चर्को चपेटामा परेको फिर्केखोलाको खोलाघर खोज्न सुरु गरेको थियो ।
यो अवधिमा ५१ पक्की र ६७ कच्ची संरचना खोलाघर मिचेर बनेको अमिन पौडेलले जानकारी दिए । उनका अनुसार खोलाको वास्तविक आकार मिचेर संरचना बनाउनेमा ३ वटा स्कुल र १४ वटा सामुदायिक भवनसमेत छन् । पोखराको मध्यभाग भएर बग्ने फिर्केखोला ८ किलोमिटर लामो छ ।
जानकारहरुका अनुसार केही वर्षअगाडिसम्म ४० मिटरसम्म फैलिएको फिर्केखोला अतिक्रमणको चपेटामा पर्दा साँघुरिएको मात्रै छैन, कतै अस्तित्व नै देखिँदैन । केही वर्षसम्म फिर्के खोलाकै बाटो रहेको पोखरा जिरो किमीमा खोलामाथि नै विभिन्न संघसंस्था र धार्मिक व्यापारिक भवन बनाएका छन् ।
अमिन पौडेलले फिर्केखोला सीमांकन आइतबार सकिने जानकारी दिए । फिर्केखोलाको अन्तिमबिन्दू गाईघाट (फेवाताल, ड्यामसाइड) देखि खोलाको वास्तविक बाटो खोज्न थालिएको थियो । खोलाको वास्तविक आकारका लागि २०३२ सालको नक्सालाई आधार मानिएको छ । उक्त मापदण्डअनुसार पटकपटक सीमांकन, नक्सांकन अध्ययन, प्रतिवेदन तयार भए पनि लागू हुन सकेको छैन ।
फिर्केको वास्तविक आकार पत्ता लागिसकेपछि मापदण्ड तोकिने र असोजपछि मात्रै संरचना हटाउन सुरु गरिने मेयर आचार्यले बताएका छन् । उनले फिर्केखोला माथि बनेका अतिक्रमित संरचना हटाउन दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने जमनकारी दिए ।
फिर्केखोला अतिक्रमण गरेर बनेका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने योजना महानगरको छ । एसियाली विकास बैंकको पोखरामा ‘सस्टेनेबल टुरिजम्’का लागि ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्केखोला सौन्दर्यकरण समावेश गरिने महानगरको भनाइ छ ।
हाल फिर्केखोला अतिक्रमणमात्रै होइन, ढल तथा मलमूत्रसमेत खोलामा मिसाउँदै आएका छन् । खोलामा फालिएको ढल तथा मलमूत्र सीधै फेवातालमा गएर मिसिँदा दुर्घन्धित बनेको छ । जिल्ला कारागार कार्यालय कास्कीलगायतका सरकारी, निजी तथा दर्जनौं व्यक्तिगत घरधनी फिर्केमा सीधै सेफ्टी ट्यांकीको ढल मिसाएका छन् ।
प्रकाशित मिति २०८० भदौ १ गते शुक्रबार ०७:०२




