पोखरा
गण्डकीमा तय गरिएका २६ समृद्धिका सूचक र प्रगतिको स्थिति हेर्दा ९ वटा त पूरा हुनै नसक्ने देखिएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्ण देवकोटाका अनुसार ६ वटामा लक्ष्य प्राप्त हुन गाह्रो देखिएको छ भने १० वटामा भने यो आर्थिक वर्षको अन्तिमसम्म पूरा हुन सक्ने अनुमान गरिएको छ ।
समृद्धिका लक्ष्यमात्रै होइन, गण्डकीको प्रथम पञ्चवर्षीय योजनाले तय गरेका प्रदेश गौरवका आयोजनामा पनि अधिकाश अधुरै रहे भने केही सुरु नै हुन नसकेका हुन् । प्रदेश सरकारको आफ्नै बजेट र अन्य क्षेत्रबाट स्रोत जुटाई कार्यान्वयन गर्नको लागि १३ प्रदेश गौरवका आयोजनाहरू छनौट गरिएका थिए । ती पनि अधिकांश पूरा हुन नसकेको पाइएको छ ।
गण्डकी सरकारको पहिलो पञ्चवर्षीय आयोजना कार्यान्वयनको जग नै बस्न नसकिरहेको अवस्थाको समीक्षा गर्दै अहिले दोस्रो पञ्चवर्षीय आयोजना निर्माणको तयारी थालिएको छ । दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्रमाथि अहिले छलफल भइरहेको गण्डकीका उपाध्यक्ष कृष्ण देवकोटाले बताए । तथ्यको सही विश्लेषण नगर्दा लक्ष्य प्राप्त गर्न प्रदेश चुकेको अनुभव नीति तथा योजना आयोग गण्डकीका पूर्व उपाध्यक्ष रघुराज काफ्लेले सुनाए । देशैभरि कृषि, पर्यटनलाई पहिलोे प्राथमिकतामा राख्ने तर अनुदान नै बाँडेर बस्ने हो भने कुनै लक्ष्य प्राप्त नहुने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलले बताए । गरिबी हटाउनुपर्ने अवश्यकता भएको ठाउँमा ठूलो रकम खर्च गरेर सभा हल बनाउने अभ्यासले विकास नहुने उनको सुझाव थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले संघीयताको मर्म पनि बलियो हुने र उत्पादन बढाउने गरी प्राथमिकताको क्षेत्र तय गरेर योजना बनाउनुपर्ने श्रेष्ठको भनाइ छ । अहिले पनि कार्यक्रम र योजना निर्माण परम्परागत नै भएकाले पुनर्विचार गर्नुपर्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।
योजना र कार्यक्रमबीच, कार्यक्रम र बजेट विनियोजन बीच, बजेट र कार्यान्वयनबीच ठूलो खाडल रहेको श्रेष्ठले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको योजना छनोटको परम्परा अन्त्य गर्दै लक्ष्य प्राप्तिका लागि सानोतिनो आँटले नपुग्ने बताए । राजनीतिज्ञले अर्को चुनावकोे चिन्ता, कर्मचारीले सरुवाबढुवाको चिन्ता दिमागबाट नहटाइ योजनावद्ध विकास नहुने मुख्यमन्त्री पाण्डेको जोड थियो ।
प्रकाशित मिति २०८० भदौ २ गते शनिबार ०१:३९




