दुई पूर्व प्रधानमन्त्रीलाई जोगाउन नखोजिएको स्पष्टोक्ति
पोखरा
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हिजोको अनुभवले पनि विभिन्न काण्डमा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नभएकाले अहिले सिआइबीबाटै सुन काण्डका दोषी पत्ता लाग्ने दाबी गरेका छन् ।
राज्यको संस्थागत रुपले दक्ष, जिम्मेवार र अनुसन्धानकै लागि भनेर निर्माण गरिएका संरचना, संयन्त्रहरुले काम गरिरहेकै बेला उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक नरहेको श्रेष्ठले बताएका हुन् । प्रेस सेन्टर नेपाल कास्कीले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले एमालेले छानबिन समितिको माग राख्दै संसद अवरुद्ध गर्नु दुखद् रहेको बताए । छानबिन समितितिर जानुभन्दा पेशागत रुपमा यसकै लागि विकासित गरिएका जसले अनुसन्धान र अभियोजन दुई वटै अगाडि बढाउन सक्छ, त्यहीँबाट दोषी पत्ता लगाउने श्रेष्ठले बताए ।
अनुसन्धान र तथ्यप्रमाणले कहाँसम्म दोषी अपराधी देखिन्छ, त्यहाँसम्म जाने श्रेष्ठले बताए । सुन काण्डमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महाराको बाबुछोरा पनि मुछिएको प्रश्नमा श्रेष्ठले कुनै माओवादी पार्टी वा अरु परे पनि नछुट्ने दाहोर्याए ।
सुन काण्डलाई अन्तिम निश्कर्षमा पु¥याएर तत्काल त्यसको नेकवर्क पहिचान गरेर दोषीमाथि कारबाही गर्ने र दोस्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण सुरक्षा र व्यवस्थापनलाई समीक्षा गरेर नयाँ नीति र योजनाका साथ अगाडि बढ्ने दाबी गृहमन्त्री श्रेष्ठको छ । ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुको वयान लिने सन्दर्भमा गठबन्धनको कुनै बैठक नबसेको श्रेष्ठले बताए ।
श्रेष्ठले धेरै मिटरव्याजीले न्याय पाइसकेको बताए । मिटरव्याजी शोषण सामन्तवादको निकृष्ट अवषेश भएकाले कानुन पनि आइसकेको र हरेक सिडिओ अफिसमा सहजीकरण समितिमार्फत हजारौं पीडितले न्याय पाइसकेको श्रेष्ठले दाबी थियो ।
प्रकाशित मिति २०८० भदौ २ गते शनिबार ०१:४९




