२०८३ असोज २४ गते शनिबार

सरकारले मात्रै आर्थिक मन्दी टार्न सक्दैनः मन्त्री आले

सरकारले मात्रै आर्थिक मन्दी टार्न सक्दैनः मन्त्री आले

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २ गते शनिबार ०२:४७

कोरोना संक्रमण मत्थर भएसँगै आर्थिक संकटबाट मुक्त हुने अपेक्षा राखेपनि रुस र युक्रेनबीचको युद्वले झनै शिथिल बनाएको मन्त्री आलले बताए ।

पोखरा

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले सरकारले मात्रै विद्यामान आर्थिक संकट टार्न नसक्ने बताएका छन् । निजि क्षेत्र सरकारसँगै हुनुपर्ने उनको भनाइ छ ।

कोरोना संक्रमण मत्थर भएसँगै आर्थिक संकटबाट मुक्त हुने अपेक्षा राखेपनि रुस र युक्रेनबीचको युद्वले झनै शिथिल बनाएको मन्त्री आलले बताए । ‘अर्थतन्त्रलाई उकास्न अझै समय लाग्छ जस्तो छ । लामो समयदेखि आर्र्थिक रुपमा व्यापारी उद्योगलाई धेरै गाह्रो छ’, उनले भने, ‘बैंकबाट ऋण लिने बेला जुन ब्याजदर थियो बैंकले आफूखुशी बढाएर तिर्न केही ढिला भयो भने लिलामै गर्न सूचना जारी गर्दा सबैलाई बडो आक्रन्त बनाएको छ ।’

शनिबार बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको १२ औं अधिवेशन उद्घाटनमा मन्त्री आलेले लहडको भरमा योजना छनोट गर्दा मुलुकको विकास हुन नसकेकोमा चिन्ता जनाए । गण्डकी प्रदेशले योजनामा दोहोरपन आउन नदिन योजना बैंकको अवधारणा अगाडि सारेको बताए ।

‘लहडको भरमा योजना छनोट गर्दा कहाँ पुग्ने दिशा निश्चित छैन । हाम्रा पञ्चवर्षीय योजनाहरु छन् । बजेट कहाँ जान खोजेको हो, उदेश्य प्राप्तीको निम्ति केन्द्र, प्रदेश र स्थानीय सरकारको के भूमिका हुन सक्छ त्यो स्पष्ट हुन जरुरी छ’, मन्त्री आलेले भने, ‘कति कुरा डुप्लिकेशन भएका छन् । कतिपय अत्यावश्क कुरा छाडिएका छन् ।’

उनले तीनै तहका सरकारकोे प्राथमिकतामा कृषि, पर्यटन, शिक्षा भनेपनि भौतिक पूर्वाधार विकासलाई जोड दिएको उल्लेख गरे । मन्त्री आलेले भने, ‘कागजमा प्राथमिकता क्षेत्र एउटा तोकिएको छ । बजेट अर्कैतिर बगेको छ । त्यसमा एकरुपता आएकै छैन ।’ तीन तहका सरकार तीनतिर फर्किएर विकास सम्भव नभएको उनको भनाइ छ ।

प्रकाशित मिति २०८० भदौ २ गते शनिबार ०२:४७
हजुरको प्रतिक्रिया