पोखरा
प्रशोधित गरिएको मिनरल वाटरमै लेउ जस्तो बस्तु देखिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पानी उद्योग नै बन्द गराएको छ । पोखरा महानगरपालिका–१८ भकुन्डेमा रहेको नेपा फ्रेस मिनरल वाटरको उद्योग बन्द गराएको हो ।
बुधबार सहायक प्रमुख जिल्ला अधिकार गुरुदत्त ढकालको नेतृत्वमा पुगेको अनुमगन टोलीले हालका लागि उद्योग बन्द गराएर मौज्दातमा रहेका पानी बिक्रीमासमेत रोक लगाएको छ । नेपा फ्रेसले मुलको शुद्ध पानी भनेर बोत्तल र जारमा बिक्री गर्दै आइरहेको छ ।
भदौ १ गते गण्डकी प्रदेश नीति तथा योजना आयोगले लेकसाइडको एक रिसोर्टमा दोस्रो पञ्चवर्षीय योजनाको तर्जुमा सम्बन्धमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा लेउ जस्तो देखिने पानीको बोत्तल फेला परेको थियो । जुन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित ७ जना मन्त्री, मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र संघीयता विज्ञ सहभागी थिए ।
मुख्यमन्त्री कार्यालयले नै कैफियत देखिएको पानीको बोत्तल जिल्ला प्रशासन कार्यालयमा पठाएपछि बुधबार स्थलगत अनुमगन गरेको हो । अनुगमन टोलीसँग उद्योग सञ्चालक भीमप्रसाद शर्माले ब्याच नम्बर ६० मा उत्पादित पानीमा कैफियत देखिएको स्विकार गरे । बिजुलीको समस्याले कैफियत आएको उनले सुनाए ।

‘त्यो दिनको उत्पादनमा समस्या देखिएको थाहा पाउने वित्तिकै रोक्यौं । मार्केटमा छ भने निकाली हालौं है भनेर कहीं छ भने ल्याइदिनु भनेर डिलरलाई पनि भनेका थियौं’, उनले भने । तर, निकै कम पानीका बोत्तल फिर्ता भएका छन् ।
उद्योगको कागजपत्रसहित बिहिबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको अनुगनम संयोजक सहायक जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । मुद्वाको किनारा नलाग्दासम्म उद्योग बन्द गराएको जानकारी दिए ।
मुद्वाको किनारा नलागेसम्म बिक्रीवितरण र उत्पादन नगर्नु भनेर निर्देशन दिएक छौं’, उनले भने, ‘ वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ वा उपभोक्त हीत संरक्षण ऐन २०७५ बमोजिम जुन कानुन आकर्षित हुन्छ त्यो कानुनको परिधीभित्र रहेर कारबाही अगाडि बढ्छ ।’
पानी परिक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कास्कीमार्फत प्रक्रिया अगाडि बढाइएको छ । राष्ट्रिय उपभोक्ता महासंघ कास्कीका उपाध्यक्ष मिलनप्रसाद तिवारीले प्रत्यक्ष उपभोक्तको हीत विपरित काम भएकाले उद्योगलाई कारबाही गर्नुपर्ने बताए । ‘बर्खाको बेला अन्य पानी उद्योगको पनि अनुमगन गर्न आवश्यक छ । उपभोक्ता समितिले घरघरै वितरण गर्ने पानी समेत खानै अयोग्य भएकाले त्यसको पनि अनुगमन हुनुपर्छ’, उनले भने ।
केही समय अगाडि कास्कीमै अर्को एक पानी उद्योगले परिक्षण उत्पादन गरेको पानी बिक्री भएको थियो । शिल गरिएको बोत्तलमा लेदो फेला परेको थियो । प्रशोधित भनिएका पानीमै कैफियत देखिन थालेपछि उपभोक्ताको विश्वास घट्दै गएको छ ।
प्रकाशित मिति २०८० भदौ ६ गते बुधबार ०६:०४




