पोखरा
पोखरा महानगरपालिका वडा नम्बर १ स्थित सेती नदीमा एक युवाले हाम फालेका छन् । सेती हाम फाल्ने पोखरा–१ कसेरी बस्ने २८ वर्षीय सन्तोष तामाङ रहेका छन् ।
प्रहरीका अनुसार तामाङका भाइले दाइ सन्तोष सेतीमा हाम फालेकोे आफूले देखेको भन्दै खबर गरेका थिए ।
प्रहरीले लागुऔषध पछ्याउँदै जाँदा कसेरीबाटै ३ जना युवालाई पक्राउ गरेको छ । प्रहरीले लागु औषधसहितका युवालाई पछ्याउँदै प्रक्राउ गर्न जाँदा सन्तोष डराएर सेतीमा हाम फालेको स्थानीयले बताइरहेका छन् ।
पोखरा महानगर वडा नम्बर १ अध्यक्ष शाहारा प्रधानले पनि प्रहरीले लागुऔषधसहितका युवालाई समात्न जाँदा अर्का युवा सन्तोष डराएर सेतीमा हाम फालेको परिवार र स्थानीयले बताइरहेको जानकारी दिए ।
१९/२० वर्षका केटालाई प्रहरीले पक्राउ गर्न जाँदा उनी चाहिँ डराएर सेतीमा हामम फालेको बुझिएको प्रधानले बताए । बगरमा बालुवा चाल्नेले पनि सेतीमा मान्छे बगिरहेको देखेको बताएका छन् ।
दिउँसो ३ जना युवालाई लागु औषधसहित पक्राउ गरिएको र उनीहरुको म्याद थपको प्रक्रिया चलिरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए । समातिने युवा कारोबारी हुन् कि प्रयोगकर्ता अनुसन्धानकै क्रममा रहेकोे प्रहरीले जनाएको छ ।
सन्तोषका भाइले दिउँसो ४ बजेतिर प्रहरीलाई खबर गरेपछि उनको खोजिका लागि खटिएको तर फेला पार्न नसकिएको विकले जानकारी दिए । रात पनि परिसकेकाले बिहीबार बिहानैदेखि खोजि कार्यमा सहज हुने प्रहरीको भनाइ छ ।
प्रकाशित मिति २०८० भदौ ६ गते बुधबार ०८:३३




