२०८३ साउन २१ गते बिहीबार

मुक्तकिलो सहर पोखराबाट ईश्वरमणिको ‘सम्बोधिका’ बजारमा

मुक्तकिलो सहर पोखराबाट ईश्वरमणिको ‘सम्बोधिका’ बजारमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ९ गते शनिबार ०७:०२

१४ वर्षको अन्तरालमा ईश्वरमणिले मुक्तक सञ्चयन सम्बोधिका बजारमा ल्याएका हुन्

पोखरा

पोखरामा शनिबार साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक संग्रह लोकार्पण भएको छ । कवितालाई मूल विधा मान्ने कवि ईश्वरमणि अधिकारीले कविता र गजलपछि ‘सम्बोधिका’ मुक्तक संग्रह बजारमा ल्याएका हुन् ।

वरिष्ठ साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठले सम्बोधिका किताबको कभर अनावरण गरे भने लेखक ईश्वरमणिसहित वरिष्ठ गायिक हरिदेवी कोइराला, साहित्यकार सरस्वती प्रतीक्षा, दीपक समीप, सञ्जीव पौडेल र उपेन्द्र पौडेलले पुस्तक सार्वजनिक गरे ।

पुस्तकको लोकार्पणपछि बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहेका वरिष्ठ साहित्यकार सरुभक्तले नेपाली साहित्यमा मुक्तक चोटिलो विधाका रुपमा स्थापित भएको बताए । अर्का साहित्यकार तीर्थ श्रेष्ठले साहित्य अत्यन्तै कडा नियमहरूमा बांधिएर लेख्ने कुरा नभएको बताउँदै केही लाइनका मुक्तकले समाजका हरेक पक्षलाई गहिरोसँग छुने, प्रहार गर्ने क्षमता राख्ने बताए ।

वरिष्ठ गायिका हरिदेवी कोइरालाले पोखराको मुक्तक इतिहासमा ईश्वरमणिको कृति एउटा कोसेढुंगा बन्ने बताइन् । १४ वर्षको अन्तरालमा संग्रह बजारमा ल्याएका ईश्वरमणिका १ सय ११ वटा मुक्तक संग्रहमा समावेश छन् ।

मुक्तककार ईश्वरमणीले जीवनका विभिन्न समयमा लेखिएका मुक्तकहरुबाट छानेर यो कृति निकालिएको बताउँदै केही मुक्तकसमेत सुनाए ।
संग्रहमा ५० प्रतिशत मायाप्रेम, त्यसपछि राजनीतिक मुक्तक रहेको बताउँदै समीक्षक सञ्जीव पौडेलले ईश्वरमणिका मुक्तकले जीवनमा धोका, घात भए पनि प्रेम कहिल्यै नमर्ने दर्शन अभिव्यक्त गरेको बताए ।

साहित्यकार सरस्वती प्रतीक्षाले मुक्तकको सहर पोखरामा मुक्तककै कृति थपिनु र त्यसमा पनि स्तरीय मुक्तकको कृति थपिनुले डबल खुसी मिलेको बताइन् । अलि जटिल, निरसिलो मानिने गणितमा विद्यावारिधी गरेका ईश्वरमणि साहित्यमा भने उत्तिकै रसिलो र उत्तिकै अब्बल रहेको उनकै दामली साहित्यकार जीवनसागर भण्डारीले सुनाए ।

अर्का साहित्यका दीपक समीपले पनि ईश्वरमणि सबै पुस्ता र क्षेत्रमा भिज्न सक्ने तथा सिर्जनाले जोड्न सक्ने व्यक्तिका रुपमा चित्रण गरे । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखराले एउटा संग्रहणीय मुक्तक संग्रह पाएको बताए ।

प्रकाशित मिति २०८० भदौ ९ गते शनिबार ०७:०२
हजुरको प्रतिक्रिया