२०८३ असोज २४ गते शनिबार

मित्रमिलन सहकारीका बचतकर्ताले पाएनन् बचत रकम फिर्ता

मित्रमिलन सहकारीका बचतकर्ताले पाएनन् बचत रकम फिर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ११ गते सोमबार १२:०४

आफूले जम्मा गरेको रकम फिर्ता माग्न जाँदासमेत विभिन्न बहानामा फर्काउने गरिएको उनीहरुको गुनासो छ ।

पोखरा

पोखराको मित्रमिलन सहकारी तथा बचत संस्थाका बचतकर्ताले आफूहरुले बचत गरेको रकम फिर्ता नपाएको गुनासो गरेका छन् । मुद्दति खातामा जम्मा गरेको रकम करिब १ वर्ष पुग्न लाग्दासमेत फिर्ता नपाएको उनीहरुले उनीहरुको गुनासो छ ।

आफूले जम्मा गरेको रकम फिर्ता माग्न जाँदासमेत विभिन्न बहानामा फर्काउने गरिएको उनीहरुको गुनासो छ । लामो समय ओमन बसेर नेपाल फर्किएकी गोमा चापागाईंले ३ वर्षे मुद्दति खातामा जम्मा गरेको १२ लाख रुपैयाँ फिर्ता नपाउँदा आफ्नो ३ सन्तानको विचल्ली हुने अवस्थामा पुगेको बताइन् ।

आफूहरुले खाइनखाई जम्मा गरेको रकम भनेको बेला फिर्ता नपाउँदा समस्या उत्पन्न भएको पीडितको भनाइ छ । उनीहरुले आफन्त बिरामी हुँदासमेत जम्मा गरेको रकम खर्च गर्न नपाएको गुनासो गरेका छन् ।

मित्रमिलन सहकारी पीडितका अनुसार सञ्चालक समितिसँग उनीहरुको सम्पर्क हुनै पाएको छैन । सहकारीको अध्यक्ष तथा निर्देशक रमण पौडेल हुन् । पौडेलले सहकारीमा उठाएको रकम आफूखुसी व्यक्तिगत सम्पत्ति जोडेकाले सहकारी संकटमा परेको पीडितहरुले आरोप लगाउँदै आएका छन् ।

सहकारी सञ्चालक समितिमा विभिन्न मिडियासँग जोडिएका व्यक्तिहरु सदस्य रहेकाले पनि पीडितको आवाज बाहिर आउनै नपाएको आरोप उनीहरुको छ । उनीहरुले आफूहरुले पटकपटक मिडिया बोलाएर पहिल्यैदेखि सहकारी संकटमा रहेको जानकारी गराउँदा पनि कुनै तवरबाट सहयोग नपाएको उनीहरुको दाबी छ ।

सहकारी आर्थिक संकटमा परिसकेपछि लामो समयदेखि सहकारीको लेखा शाखा बन्द छ । सहकारीका अनुुसार करिब २२ सय जनाको २० करोड रुपैयाँ फिर्ता दिन बाँकी छ ।

यता, सहकारीका प्रमुख प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले आफूहरुले बचतकर्ताको बचत विस्तारै फिर्ता गर्दै आइरहेको दाबी गरे । उनले करिब ३६ करोड रुपैयाँसम्म फिर्ता दायित्व रहेकोमा हालसम्म २० करोडमा झारिसकेको बताए ।

सहकारी ऐनअनुसार नभई सञ्चालक समितिको मनोमानीको कारण चल्दा पछिल्लो समय सहकारीमा समस्या देखिइरहेको पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक विष्णुप्रसाद भण्डारी बताउँछन् । उनले राज्यका तीनै तह जिम्मेवार नहुँदासम्म समस्या समाधान नहुने उनको भनाइ छ ।

प्रकाशित मिति २०८० भदौ ११ गते सोमबार १२:०४
हजुरको प्रतिक्रिया