पोखरा
पोखरामा यो वर्ष पनि तायाः मचा नृत्य प्रतियोगिता आयोेजना गरिएको छ । यसपाली रानीपौवा तायाः मचा नाँच समितिले प्रतियोगिता आयोजना गरेको हो । १९ वर्षपछि रानीपौवा तायाः मचा नाँच समितिले प्रतियोगिता आयोजना गर्ने पालो पाएको छ । भदौ १६ गते भिमसेन मन्दिर परिसर रानीपौवामा प्रतियोगिता हुनेछ ।
कास्कीका ३० तायाःमचा नृत्य समूहले सहभागिता जनाउने प्रचारप्रसार संयोजक सुभाष ताझ्यले जानकारी दिए । उनका अनुसार पुरुषको २१ र महिलाको ९ समूहले प्रतिस्पर्धा गर्नेछन् । यो पटक १० गुणाले पुरस्कार राशी वृद्धि भएको छ । पुरुषतर्फको विजेताले ३ लाख १ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले २ लाख १ रुपैयाँ, तेस्रोले १ लाख १ रुपैयाँ र सान्त्वना समूहलाई ३० हजार रुपैयाँ १ प्रदान गरिने ताझ्यले बताए । तेर्सापट्टिका रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ र शंकर श्रेष्ठले आफ्ना आमाबुवा हेमकुमार र बालकुमारीको स्मृतिमा १० लाख रुपैयाँ सहयोग गरेपछि पुरस्कार राशी बढाइएको उनको भनाइ छ ।
यस्तै महिलातर्फको विजेताले ४० हजार १ रुपैयाँ र दोस्रो हुने समूहले २० हजार १ रुपैयाँ पाउनेछ । ‘खास तायाःमचामा पुरुष महिला भएर नाँच्ने गरिन्छ । अचेल महिला पनि नाच्ने भएकाले प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिएको हो’, ताझ्यले भने ।
नेवा खलः कास्कीको आह्वानमा पोखरामा २०५६ सालदेखि निरन्तर तायाः मचा नृत्य प्रतियोगिता आयोजना हुँदै आइरहेको छ । गाइजात्रालाई पोखरामा तायाःमचा भनिएको हो । गाइजात्रा (सापारु) पौराणिक र धार्मिक हिसाबले वर्षभर दिंवगत भएका आात्मको स्वर्गलोकमा बास पाउने विश्वासका साथ बाजागाज र नृत्यसहित मनाउने कथन छ ।
तायाःमचा नृत्य पोखराको पर्यटनका लागि प्रडक्टका रुपमा विकास गर्नुपर्ने नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे बताउँछन् । ‘टुरिष्टका लागि तयाः मचा प्रडक्टको रुपमा विकास गर्नुपर्नेछ । व्यापक रुपमा टुरिजम सेक्टरका साथीहरुसँग मिलेर यसलाई क्यालेन्डरमै राख्न सक्यौं भने राम्रो हुन्छ’, उनले सुनाए । तायाःमचा पोखरामा सबै जातजातीको भइसकेको उनको भनाइ छ ।
प्रकाशित मिति २०८० भदौ ११ गते सोमबार ०७:१८




