पोखरा
लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझीको एकल साँझ हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले भदौ १५ गते प्रज्ञा प्रतिष्ठानमा रायमाझीको एकल साँझ आयोजना गर्ने लागेको हो ।
एकल साँझमा गायक रायमाझीले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ दर्जन बढी गीत प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रज कलाकारको सम्मान, लोककला र संस्कृितको संरक्षण गर्ने उद्देश्यका साथ यो वर्षबाट एकल साँझ आयोजना थालेको बताइन् ।
‘हामीले अबदेखि हरेक वर्ष एक अग्रज कलाकारको एकल साँझ आयोजना गर्ने उद्देश्य राखेका छौं । त्यसै अनुसार यो वर्ष नारायण रायमाझी एकल साँझ हुन लागेको हो,’ उनले भनिन् ।
कार्यक्रममा गायक तथा संगीतकार रायमाझीले आयोजना हुन लागेको एकल साँझ आफ्नो जीवनकै पहिलो एकल साँझ भएकोले आफ्ना लागि चुनौती र अवसर दुवै रहेको बताए ।
‘जीवनमा एकल साँझ गरिन्थ्यो, गरिदैन थियो। प्रतिष्ठानले एक अवसर दिएको छ,’ उनले भने,’ कताकता डर, कताकता उत्साह लागि रहेछ। म पनि एउटा नयाँ अनुभव गर्दैछु ।’
२०४२ सालमा कारगिल (रेलिमै) बाट आफ्नो सांगीतिक यात्राको सुरू गरेका रायमाझीका ’राम्दीपूल तरने बित्तिकै, राम्दी पूल तर्ने, गेटमा बेलीजाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैंचो नदेउ साइली, लाइछौ बेशन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाई’ लगायतका गीत लोकप्रिय छन् ।
उनले ’गोर्खा पल्टन, परदेशी र परदेशी २’ लगायतको फिल्म निर्देशन गरेका छन् ।
प्रकाशित मिति २०८० भदौ १३ गते बुधबार ०२:२४




