पोखरा
पोखरा गाइजात्रामय बनेको छ । बिहीबार पोखरामा ३३ टोलीले गाइजात्रा देखाएका हुन् । नेवार समुदायको बाहुल रहेको हरेक टोलटोलमा गाइजात्राको माहोल थियो । सडकमा पनि गाइजात्राको रौनक देखियो । झरीको प्रवाहा नगरीकन विहानैदेखि गाइजात्रा निकालिएको थियो ।
गाइजात्रा दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी परिक्रमा गराउने प्रचलन छ । यसरी परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार पोखरामा २०५६ सालसम्म नेवारी बस्तीहरुमा मात्रै स्वतस्फुर्त रुपमा गाइजात्रा निकालिन्थ्यो । ‘आजकाल पोखराभर गाइजात्राको रौनक हुन्छ’, उनले भने । नेवा खल कास्कीको संयोजनमा गाइजात्रा निकालिने उनको भनाइ छ ।
पोखरामा निकालिने गाइजात्रामा यूवापुस्ताको निकै आकर्षण छ । पोखराका ३३ टोलीले देखाएको गाइजात्रामा नयाँ पुस्ता नै नाँचेको पालखेको भनाइ छ ।





प्रकाशित मिति २०८० भदौ १४ गते बिहीबार ०६:४९