२०८३ साउन २१ गते बिहीबार

एसियाडमा आर्चरीः पदकको आश तर प्रशिक्षणको अभाव !

एसियाडमा आर्चरीः पदकको आश तर प्रशिक्षणको अभाव !

विनोद ढुंगाना

@Public 4K Tv

२०८० भदौ १५ गते शुक्रबार ०३:१३

१९ औं एसियाडमा प्रतिस्पर्धा गर्ने आर्चरीका ४ जना खेलाडी यतिबेला पोखरा रंगशालाको आर्चरी मैदानमा बन्द प्रशिक्षणमा व्यस्त छन् ।

पोखरा

असोज ६ देखि २१ गतेसम्म चीनको हाङझाउमा हुने १९ औं एसियाडमा नेपाली आर्चरीले चौंथो पटक प्रतिस्पर्धाको मैदान उत्रदैछ । एसियाको खेलकुम्भ एसियाडमा आर्चरीका १० इभेन्टमा प्रतिस्पर्धा हुनेछ । नेपाली खेलाडीले भने ६ इभेन्टमा मात्रै प्रतिस्पर्धा गर्नेछन् । खेल सामाग्रीको अभाव खेपेर प्रशिक्षणरत खेलाडीले यसपाली खेलमा सुधार गर्दै पदक जित्ने लक्ष्य लिएका छन् ।

१९ औं एसियाडमा प्रतिस्पर्धा गर्ने आर्चरीका ४ जना खेलाडी यतिबेला पोखरा रंगशालाको आर्चरी मैदानमा बन्द प्रशिक्षणमा व्यस्त छन् । एक महिना काठमाडौंमा प्रशिक्षण गरेपछि साउन १ गतेदेखि उनीहरु पोखरा आएका हुन् । पुरुषतर्फ नेपाल पुलिसका तिलक पुन मगरसँगै गण्डकी प्रदेशका योगेन्द्र शेरचन र महिलातर्फ नेपाल आर्मीकी मञ्जु बजगांई र इमायु राइले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् । तिलकबाहेक तीनै जनाको एसियाडमा डेब्यु सहभागिता पनि हो ।

 

 

आर्चरीका प्रशिक्षक बसन्त थकालीका अनुसार एसियाडमा आर्चरीको रिकर्भ विधामा मात्रै सहभागी नेपालले यसपालि कम्पाउन्ड विधामा पनि डेब्यु खेल्दैछ । रिकर्भ विधामा तिलक र मन्जुले प्रतिस्पर्धा गर्नेछन् । कम्पाउन्डमा योगेन्द्र र इमायु भिड्नेछन् । व्यक्तिगतसँगै मिक्सड इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

बन्द प्रशिक्षणरत आर्चरीका खेलाडीलाई एकातिर पोखराको बद्लिरहने मौसमले साथ दिएको छैन । अर्कोतर्फ निकै छोटो अवधिको बन्द प्रशिक्षणमा खेल सामाग्रीको अभाव भोग्नुपरेको प्रशिक्षक थकाली बताउँछन् । ‘एसियन गेम्समा जानु छ । २÷३ महिनाको प्रशिक्षण अवधि छोटो हो । त्यैमाथि हामीलाई सबै कुराको अफ्ठ्यारो छ । पानी आइरहन्छ’, उनी भन्छन्, ‘इकुपमेन्टको कुरा पनि कमजोरी नै छ । जेनतेन हामीले पुर्‍याएर प्रशिक्षण गरिरहेका छौ ।’
कति सामाग्री त खेलाडी आफैंले किनेर ल्याएको उनले बताए । सिंगापुर, भारतबाट खेलाडी आफैंले सामान मगाएको उनको भनाइ छ ।

‘एरोहरु बल्ल आउँदैछ । जति इकुपमेन्ट पायौं त्यसबाट पनि केही गर्छौं भनेर खेलाडीहरु लागिपरेका छन्’, थकालीले सुनाए । आगामी असोज १४ देखि २० गतेसम्म एसियाडमा आर्चरीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । तर, राष्ट्रिय खेलकुद परिषद्ले अझै पर्याप्त खेल सामाग्री उपलब्ध गराउन सकेको छैन । र यो खेल सामाग्रीको अभाव नेपाली खेलकुदमा नौलो होइन । त्यसमाथि पनि खेल सामाग्रीलाई निकै मंहगो पर्ने आर्चरीमा । प्रशिक्षणमा खेल सामाग्रीको अभाव नतिजामा देखिने भय खेलाडीमा देखिन्छ ।

खेलाडी इमायु राइ पर्याप्त सामग्री नहुँदा प्रशिक्षणलाई प्रभाव पारेको बताउँछिन् । ‘नयाँ इकुपमेन्टसँग तालमेल मिलाउन घटीमा पनि एक महिना लाग्छ । नयाँ सामानको हरेक आनीबानी थाहा पाउन जरुरी हुन्छ’, उनले भनिन्, ‘आफ्नो एरो कहाँ लाग्छ ? कस्तो छ ? त्यसको लागि समय चाहिने हुँदा समयमै सामाग्रीहरु नआइदिदा खेललाई एकदम धेरै प्रभाव पार्छ ।’

आर्चरी संघले बारम्बार खेल सामाग्रीको अभावबारे जानकारी गराएपनि उपलब्ध नभएको गुनासो उनको छ । छोटो समयको प्रशिक्षणले धपरी भइरहेको उनले बताइन् । ‘अन्तिम समयमा आएर हामीले इकुपमेन्टलाई सेटअप गरेर सब ओके हुनुपर्ने टाइमिङमा जोडतोडका साथ ट्रेनिङ गरिरहेका छौं’, इमायु भन्छिन्, ‘जो अलि गलत हुन्छ । किनभने यसमा हाम्रो मसल इन्जुरीहरु हुने चान्सेस एकदमै धेरै छ । अन्तिम समयमा यो भएन । त्यो भएन प्रेसर छ सब एकैचोटि मिलाउनुपर्छ ।’

नेपाली आर्चरीले ब्राजिलको रियो ओलम्पिकमा समेत सहभागिता जनाएको छ । यसअगाडि १६ औं एसियाडमा नेपालले क्वाटरफाइनल खेलेको भन्दा अरु इतिहास छैन । यसपालि सेमिफाइनलसम्मको यात्रा तय गरेर नयाँ इतिहास रच्ने कम्पाउन्डमा प्रतिस्पर्धा गर्ने खेलाडी योगेन्द्र शेरचनले बताए । ‘हामीले यो पटक अपेक्षा गरेका छौं । सेमिफाइनलसम्म जाने हाम्रो लक्ष्य छ । सेमिफाइनल जानु भनेको नै मेडलको लागि प्रतिस्पर्धा गर्नु हो’, उनले भने ।

‘समयमै खेल सामाग्री उपलब्ध गराइदिएको भए खेलमा अझै सुधार गर्न सकिन्थ्यो’, उनलाइ लागेको छ । बो, एरो लगायतका सामाग्री आफैंले किनेर प्रशिक्षण गरेको शेरचनले बताए । उनले भने, ‘अहिले परिषद्ले पनि मगाएको छ । प्रशिक्षणको सुरुदेखि नै खेल सामाग्री पर्याप्त हुनपर्ने हो ।’

प्रकाशित मिति २०८० भदौ १५ गते शुक्रबार ०३:१३
हजुरको प्रतिक्रिया