पोखरा
पोखरा टप मोडलको दोस्रो संस्करणको उपाधि भेरोनिका माइकल गुरुङले जितेकी छन् । उनले पोखरास्थित कुटी रिसोर्टमा शनिवार भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै मोस्ट ट्यालेण्टेडको उपाधि समेत हात पार्न सफल भएकी थिइन् ।
कनेक्ट टु इभेन्ट्सद्वारा आयोजित कार्यक्रममा विजेता भेरोनिकालाई ताज पहिराउँदै संस्थाका प्रबन्ध निर्देशक मनिस ओस्थाले ५० हजार नगद पुरस्कार प्रदान गरे । ७ जना अन्तिम प्रतिस्पर्धी रहेको प्रतियोगितामा प्रकृति सुवेदीले फस्ट रनर अपको उपाधिसँगै मोस्ट कन्फिडेन्ट र बेस्ट ड्रेसको उपाधि हात पारिन् । उनले ३० हजार नगद पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगितामा तिर्सना बसेल सेकेण्ड रनर अपको उपाधि जित्दै २० हजार नगद पुरस्कार प्राप्त गरिन् । उनले बेस्ट फिगरको पनि उपाधि प्राप्त गरेकी थिइन् । पोखराको गैहपाटनमा स्थित फिटनेस र वेल्नेस सेन्टर आभ्या क्लबले बेस्ट फिजिक उपाधिसहितका विजेता, फस्ट रनर अप, सेकेण्ड रनर अपलाई गिफ्ट ह्याम्पर प्रदान गरेको थिए ।
यस्तै प्रतियोगितामा समिरा ठकुरीले बेस्ट स्माइल र भ्युअर्स च्वाइसको उपाधि हात पारेकी थिइन भने प्रतिक्षा खड्काले अर्गनाइजर्स च्वाइस र बेस्ट पर्सनालिटि, अप्रिना गुरुङले बेस्ट वाक र मोस्ट ब्यूटिफूल, काजोल रोनियारले मोस्ट फोटोजेनिक र मोस्ट पपुलरको उपाधि हात पारिन् ।
प्रतियोगितामा विभिन्न अडिसनबाट युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको आयोजक संस्था कनेक्ट टु इभेन्ट्सका म्यानेजिङ डाइरेक्टर कृष्ण बस्नेतले जानकारी दिए । प्रतियोगिताले किशोरीहरूमा आत्मविश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वाककलाको विकास गराउने लक्ष्य लिएको कार्यक्रम संयोजक आशिष केसीले बताए ।
कोरियोग्राफर निकिता खड्गीले प्रतियोगिहरुलाई डेढ महिनाको तालिम दिएकी थिइन् ।
अन्तिम प्रतिस्पर्धामा निर्णायकको भूमिकामा पब्लिक फोर के टेलिभिजिनका म्यानेजिङ डाइरेक्टर मन क्षेत्री, संचारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठ, आभ्या क्लबका म्यानेजिङ डाइरेक्टर निरोज लामा र पोखरा टप मोडलको पहिलो संस्करणकी विजेता कञ्चन भुजेल रहेका थिए । कार्यक्रमको संचालन शैल्ताज कुँवरले गरेकी थिइन् ।
प्रकाशित मिति २०८० भदौ १७ गते आइतबार ०७:३९




