२०८३ साउन २१ गते बिहीबार

विद्यालय नाटक महोत्सवमा १४ नाटक मञ्चन हुने

विद्यालय नाटक महोत्सवमा १४ नाटक मञ्चन हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १९ गते मंगलबार ०१:२२

भदौ २७ देखि असोज १२ गतेसम्म पोखरा थिएटरको आयोजनामा नाटक महोत्सव हुदैछ ।

पोखरा
पोखरामा आयोजना गरिएको विद्यालय नाटक महोत्सवमा १४ नाटक मञ्चन हुने भएको छ । भदौ २७ देखि असोज १२ गतेसम्म पोखरा थिएटरको आयोजनामा नाटक महोत्सव हुदैछ ।

पोखरा महानगरपालिकाभित्रका १४ नाटक र काठमाडौंबाट थप १ अतिथि नाटक मञ्चन हुने महोत्सवक संयोजक परिवर्तनले बताए ।

महोत्सवको पहिलो दिन भदौ २७ गते हिल पोइन्ट मावि माटेपानी पोखराको नाटक ‘शिलान्यास’ मञ्चन हुनेछ । रमेश तिमल्सिनाले निर्देशनमा तयार नाटकका लेखक भीमनिधि तिवारी हुन् ।

२८ गते नवदिप बोर्डिङ स्कुल अमरसिंहले तयार ‘म..म..म..म..भुत’ नाटक मञ्चन हुनेछ । सरुभक्तद्वारा लिखित नाटकको निर्देशक दिप्सना विश्वकर्मा हुन् ।

भदौ २९ मा प्रगति मावि बाटुलेचौरले तयार पारेको नाटक ‘भोला’ मञ्चन हुनेछ । टंक चौालगाईद्वारा लिखित नाटक मिना भण्डारीको निर्देशनमा मञ्चन हुनेछ ।

विजय मल्लको लेखन र धनकाजी श्रेष्ठको निर्देशनमा तयार ‘कोहि किन बर्बाद होस्’ नाटक मञ्चनको पालो भदौ ३० गते परेको छ ।

भानुभक्त आवासिय मावि सिम्पानीको ‘अँध्यारामा बाँच्नेहरु’ नाटकको भदौ ३१ गते मञ्चन हुनेछ । मानबहादुर मुखियाले लेखेको नाटक मनोज अधिकारीले निर्देशन गरेका हुन् ।

असोज ३ गते अतिथि नाटकको पालो छ । काठमाण्डौ प्रज्ञा कुञ्ज स्कुलको नाटक ‘खेल्ने बेला खेल्छौं, पढ्ने बेला पढ्छौ’ टंक चौलागाईको लेखन तथा निर्देशनमा हेर्न पाइनेछ ।

असोज ४ गते गुरुकुल विद्यासदन नयाँबजारको ‘किर्तिपुरको युद्धमा’ नाटक मञ्चन हुनेछ । हृदयचन्द्रसिंह प्रधानले लेखेको नाटक मिलन श्रेष्ठले निर्देशन गर्नेछन् ।

असोज ५ गते ‘मुना मदन’ नाटक माउण्ट अन्नपूर्ण मावि. नदिपुरले मञ्चन गर्नेछ । लक्ष्मी प्रसाद देवकोटाले लेखेको खण्डकाव्य सोनिका कार्की खत्रीको नाट्य रुपान्तरण र निर्देशनमा हेर्न पाइनेछ ।

असोज ६ गते बाल मन्दिर मावि नदिपुरको ‘पाठशाला’ नाटकको पालो परेको छ । टंक चौलागाई लेखक रहेको नाटक सुसन पौडेलले निर्देशन गर्दैछन् ।

असोज ७ गते ‘आँधीको मनोरम नृत्य’ नाटक भाष्कर मेमोरियल स्कुल फूलबारीले देखाउनेछ । घिमिरे युवराजले लेखेको नाटक रोशनी रामदामले निर्देशन गर्नेछिन् ।

असोज ८ गते ‘हिउँजस्तो गोरी’ नाटक सनफ्लावर बोर्डिङ स्कुल अर्चलबोटले मञ्चन गर्नेछ । यो नाटक नाट्य रुपान्तरण दिप्सना विश्वकर्माले गरेकी छन् । निर्देशन दिलिप देवकोटाले गर्दैछन् ।

असोज ९ गते केफ मावि सिम्पानीको ‘कर्मको फल’ नाटकको पालो परेको छ । भानुभक्त अविरलले लेखेको नाटक रोहित पौडेलले निर्देशन गर्नेछन् ।

असोज १० गते ‘यति’ नाटक हेर्न पाइनेछ । छोरेपाटन मावि छोरेपाटनले सरुभक्तको लेखन र अनुषा परियारको निर्देशनमा मञ्चन गर्नेछ ।

असोज ११ गते एसओएस हर्मन माइनर स्कुल पोखराको ‘बिर्सन नसकिने मान्छे’ नाटक हेर्न पाइन्छ । अमृत परियारले निर्देशन गर्ने यो नाटकको लेखक वासु शशी हुन् ।

महोत्सवको अन्तिम दिन असोज १२ गते कास्की मोर्डनाइज्ड एकेडेमी चाउथेको नाटक ‘मसान’ हेर्न पाइनेछ । अञ्जु दाहालको निर्देशनमा तयार नाटकका लेखक गोपाल प्रसाद रिमाल हुन् ।

सबै नाटक दिउँसो साढे १ बजेपछि गन्धर्व नाटकघर ग्रैहापाटन पोखरामा मञ्चन हुनेछ ।

नाटक महोत्सवका लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठानले गरेको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्डेनलेसमेत सहकार्य गरेका छन् । मिडिया पार्टनरको रुपमा पब्लिक फोर के टेलिभिजनले सघाउनेछ ।

प्रकाशित मिति २०८० भदौ १९ गते मंगलबार ०१:२२
हजुरको प्रतिक्रिया