२०८३ साउन २१ गते बिहीबार

बाघलाई घेरा हाल्न निस्किए राजारानी !

विनोद ढुंगाना

@Public 4K Tv

२०८० भदौ १९ गते मंगलबार ०१:३०

बाघजात्रा आयोजक समितिका सदस्य केदारप्रसाद मर्सानीका अनुसार माघ मरेको खुशीयालीमा बाघाजात्रा मनाइन्छ ।

पोखरा

डोलीमा रानी, घोडामा सवार राजा । राजारानीको अघिपछि सेना, प्रहरी । प्रधानमन्त्री, मन्त्री, यमराज, ज्यासीन्यासी, ढेके ग्वाँराको ताँती ।

बाजाको तालामा तायाः मचा, कुमारी, लाखे र घोडा नाचको रौनक । सयौंको संख्यामा जनताको हूल बाँधेर बाघलाई घेरा हाल्न निस्किए ।

सोमबार पोखरामा निकालिएको बाघजात्राको दृश्य हो, यो । विशेषत नेवार समुदायमा प्रचलित छ बाघजात्रा ।

किन मनाइन्छ त बाघजात्रा ? बाघजात्रा आयोजक समितिका सदस्य केदारप्रसाद मर्सानीका अनुसार माघ मरेको खुशीयालीमा बाघाजात्रा मनाइन्छ । उनका अनुसार परापूर्वकालमा पोखरामा घनाबस्ती थिएन । जंगलबाट बस्ती पसेको बाघले घर पालुवा जनावार आक्रमण गरेर निकै सतायो ।

‘बाघले क्रमिक रुपले नोक्सान पुर्‍याउँदै गयो । धेरै गाइबस्तुको क्षति भएको हुनाले राजालाई गुहार्न जादाखेरी राजाले सैनिक खटाइदिनुभयो’, केदारप्रसाद भन्छन्, ‘सैनिक खटाएर बाघ आउने अखडा कहाँ कहाँ हो पत्ता लगाउनुभो । ’ सैनिकले गौंडा ढुकेर हिंस्रक बाघ मारेपछि जनताले राजासँग गरेको माग पूरा भयो । खुशियालीमा राजा र जनता मिलेर हर्ष बढ्याँई गरे । त्यो बेलादेखि बाघाजात्रा निकाल्न सुरु गरिएको कथन उनले सुनाए ।

त्यही कथन अनुसार नै बाघाजात्रा निकाल्न आइतबार बाघ आउने गौंडा गौंडामा निशान गाडिएको मर्सानीले बताए । सोमबार र मंगलबार सैनिकले बाघ खोजेपछि बुधबार फेला पारेर मारिनेछ ।

जात्रै जात्रा देखाइने बाघजात्रालाई महाजात्रा समेत भनिन्छ । पोखरामा २३ वर्षपछि बाघजात्रा निकालिएको हो । यसअगाडि २०५७ सालमा बाघजात्रा निकालिएको थियो । बाघाजात्रा आयोजक समितिका अनुसार भने २०१४ सालदेखि भैरवटोलबाट सुरु भएको हो ।

 

खर्चिलो भएकै कारण बाघजात्रालाई निरन्तरता दिन नसकेको संयोजक जवाहरलाल श्रेष्ठले बताए । ‘१००-१५० जना कलाकार खोज्नुपर्ने हुन्छ । कलाकारको व्यवस्था मिलाउन धेरै गाह्रो भएको कारणले अहिले २३ वर्षपछि जात्रा निकालिएको छ’, श्रेष्ठले भने, ‘ अहिले हामीलाई तीन महिना तयारीका लागि समय लाग्यो ।’ अब १५ लाख रुपैयाँको कोष खडा गरेर ५-५ वर्षमा बाघजात्रा निकाल्ने तयारी गरेको उनले सुनाए ।

जवाहरलालका अनुसार बाघजात्रा नेवारसमुदाय मात्रै नभएको बताए । उनले जनैपूर्णिमादेखी कृष्णजन्माष्टमीसम्म निकालिने जात्रा र नाँच बाघाजात्रामा समेटिने उल्लेख गरे ।

२३ वर्षपछि देखाइएको बाघजात्राले पोखरा परिक्रमा गर्नेछ । सोमबार पहिलो दिन नेवा छें, मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, बालधाराचोक, नालामुखचोक क्षेत्रमा जात्रा देखाइएको छ ।

मंगलबार गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, पृथ्वीचोक, महेन्द्रपुल क्षेत्रमा देखाइनेछ । बुधबार भीमसेन मन्दिर, तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौंडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै पोखरा रंगशालामा जात्राको टोली पुग्नेछ । रंगशालामा पुगेर बाघलाई राजाले बध गर्नेछन् ।

तान्त्रिक बाजाले लठ्ठाएर घेरा हालिएको बाघलाई गोलि हानेर बध गर्नेछन् । बाघ मरेपछि सिँदुर जात्रा गर्दै यसपालिको बाघाजात्रा सकिनेछ । बाघजात्रालाई निरन्तरता दिनुपर्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । ‘यस्ता जात्राले पोखराको पर्यटन प्रबद्र्धनमा थप सहयोग पुर्‍याउनेछ’, उनले भने । पोखराका पूराना बस्तीलाई जोगाएर फरक ढंगले विकास गर्ने योजना महानगरले अगाडी सारेको उनको भनाइ छ ।

युवापूूस्तालाई सहभागी गराएर वर्षेनी जात्रा निकाल्नुपर्ने बाघजात्रामा सहभागी कलाकार रेशम परियारले बताए । ‘लोप हुन लागेको यो संस्कृतिलाई निरन्तरता दिएर सकिन्छ भने १-१ वर्षमा देखाउँदा उचित हुन्छ’, उनले भने, ‘भावी पूस्ताले सिकुन् र सँस्कृतिलाई जोगउँदै जानुपर्छ ।’

अर्का कलाकार हर्खमान शाहीले नयाँ पूस्ताले चासो देखाउनुपर्ने बताए । ‘पुरानो पुस्ताले सिकाएर नयाँ पुस्तालाई हस्तानतरण गर्नुपर्छ’,उनको सुझाव छ ।

भैरवजात्रा, गाक्ष्जात्रा, गणेशजात्रा, माघेजात्रालाई निरन्तरता दिएका नेवार समुदायले अन्य समुदायसँग पनि सहकार्य गर्दै जात्रैजात्राको महाजात्रा बाघजात्रालाई पनि निरन्तरता दिन आवश्यक छ । मौलिक जात्राको संरक्षण गर्न राज्यको लगानी शुन्यप्राय छ ।

 

प्रकाशित मिति २०८० भदौ १९ गते मंगलबार ०१:३०
हजुरको प्रतिक्रिया