पोखरा
४ हजार ६ सय ४५ मिटरको उचाइमा मुस्ताङको लोमान्थाङमा गल्फ कोर्स छ । स्थानीय यो गल्फ कोर्सलाई विश्कै अग्लो उचाइमा रहेको बताउँछन् ।
लोमान्थाङको समथर भूभागमा रहेको गल्फ कोर्समा दोस्रो गल्फ च्यालेन्ज आयोजना गरिएको छ । लोमान्थाङ गाउँपालिकाले च्यालेन्जको आयोजना गरेको हो ।
भदौ ३० गते काठमाडौं, पोखरा, धरान, बुटवल लगायतका सहरका ४० गल्फर लोमान्थाङ उक्लेर खेल्न गल्फरसमेत रहेका पूर्व गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले बताए । जसमा ४ महिला गल्फरले खेल्नेछन् यसपालि नेपाली खेलाडीमा सीमिति मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ ।
इभेण्ट ९ होलमा ३÷४ ह्याण्डिक्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइनेछ । होल इन वानको विजेताले घोडा पुरस्कार पाउनेछ । ‘घोडाको अप्सनमा नगद १ लाख रुपैयाँ पनि लिन सक्नुहुनेछ’, विष्टले भने । विजेतासँगै उपविजेता, बेष्ट ग्रस, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ, बर्डीजलाई पनि पुरस्कारको व्यवस्था रहेको छ ।
गतवर्ष पनि पनि लोमान्थाङको हाइ अल्टिच्युड मैदानमा गल्फ च्यालेन्ज भएको थियो ।
लोमान्थाङको गल्फ कोर्सलाई वल्र्ड रेकर्ड कायम गराउन गल्फ च्यालेन्जको आयोजना गरेको उनको भनाइ छ ।
‘प्रतियोगिताले विश्वस्तरमा प्रचार हुन्छ । एक पटक मुस्ताङको गल्फ कोर्समा गएर खेल्छु भन्ने गल्फरमा रहर जाग्नेछ’, उनले भने । प्रचारप्रसार हुन सके मुस्ताङमा गल्फ पर्यटनको ढोका खुल्ने उनको विश्वास छ ।
प्रकाशित मिति २०८० भदौ २० गते बुधबार ०४:०६




