पोखरा
पोखरा महानगरपालिकाको न्यायिक समितिमा छिमेकीको बलेंसीबाट चुहिएको पानीले सताएको भन्दै उजुरी पर्ने गरेको छ । दुई छिमेकीबीच बलेंसीबाट चुहिने पानीकै कारण बेमेल भएपछि विवाद महानगरसम्म पुगेको हो ।
महानगर न्यायिक समिति अभिलेख प्रशासक सोम लम्सालका अनुसार भवन मापदण्डअनुसार नै संरचना बनाए पनि कहिलेकाहीं ठूलो पानी पर्दा बलेंसीबाट झर्ने पानीले छिमेकीलाई सताउने गर्दछ । यस्तो अवस्थामा दुवै पक्षलाई सम्झाइबुझाई मेलमिलापका आधारमा समस्या समाधान गर्ने गरिएको छ ।
त्यसबाहेक पोखरा महानगरको महानगरको न्यायिक समितिमा घरभाडा विवाददेखि ज्यालामजदुरी नदिएकासम्म उजुरी पर्ने गरेका छन् । अभिलेख लम्सालका अनुसार पोखरा महानगरमा सबैभन्दा बढी माना, चामलसम्बन्धी उजुरी पर्ने गरेको छ । समितिमा दर्ता भएका उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी मानाचामल मागदाबीकै विषय हुने गर्दछन् ।
अघिल्लो आर्थिक वर्षमा १ सय ७० वटा विवाद हल गर्नुपर्ने जिम्मा न्यायिक समितिको थियो । जसमध्ये एक वर्षको अवधिमा १ सय १६ वटा विवाद सुल्झिएका थिए । चालु आर्थिक वर्षमा न्यायिक समिति १२ वटा विवाद उजुरी परेका छन् । ती विवाद समाधानको प्रक्रियामै रहेको न्यायिक समितिको भनाइ छ ।
विवाद निरुपणका लागि महानगरको न्यायिक समिति प्रत्येक हप्ताको २ दिन इजलास बस्ने गरेको छ । स्थानीय तह उपप्रमुख, उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ । जसअन्तर्गत पोखरा महानगरको न्यायिक समितिको संयोजकमा उपमेयर मञ्जुदेवी गुरुङ र सदस्यमा कालीदास पोखरेल र भावना श्रेष्ठ छन् ।
प्रकाशित मिति २०८० भदौ २४ गते आइतबार ०५:३३




