पोखरा
सूर्यदर्शन सहकारी संस्था सहकारीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईसहित ७ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेको छ ।
पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारीमार्फत बचतकर्ताको बचत हिनामिना गरेको भन्दै ९ सय ७१ जनाले उजुरी परेपछि राईसहित सञ्चालक समितिका ७ जनाविरुद्ध आइतबार पक्राउ जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।
‘सञ्चालक समितिका ७ जनाविरुद्ध प्रक्राउ पूर्जी जारी भएको छ । संस्थाबाठ ठगिएकालाई उजुरी दिन यसअघि सूचना दिइएको थियो,’ उनले भने ।
उनीहरुमाथि नेटवर्किङ खडा गरी बचतकर्ताहरुको १६ अर्बभन्दा बढी बचत रकम दुरुपयोग गरेकाे आराेपसमेत छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ३२ गते एक सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो ।
जाहेरी दिएकाबाट १ अर्ब ८ करोड ११ लाख रुपैयाँ फिर्ता माग भएको प्रहरीले जनाएकाे छ ।
पोखरा महानगर ४, नालाकोमुखमा रहेको सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना तथा ठगी गरेर फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरूलाई जाहेरी दिन सार्वजनिक सूचना निकालेको थियो ।
प्रकाशित मिति २०८० भदौ २४ गते आइतबार ०६:५६




