पोखरा
लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् । संघको १४ औं अधिवेशन अन्र्तगत नयाँ नेर्तत्व चयनका लागि भएको निर्वाचनमा प्रतिष्पर्धी भरतकुमार अधिकारीलाई ९४ मतले पछि पार्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले ८ सय ८१ मत ल्याउँदा अधिकारीले ७ सय ८७ मत पाए । श्रेष्ठ २ कार्यकाल सदस्य, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षहुँदै अध्यक्ष बनेका हुन् ।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझाले २ सय ८० को फराकिलो मतान्तरले उनका प्रतिष्पर्धी ऋषिराम जमरकट्टेललाई पराजित गरेका छन । ओझाले ९ सय ७० मत ल्याउँदा जमरकट्टेलले ६ सय ९० मत पाए । प्रथम उपाध्यक्षमा ८ सय ९६ मतका साथ उपेन्द्रराज सुवेदी(राजु) विजयी भए । उनका प्रतिष्पर्धीं गोपीचन्द्र बास्तोलाले ७ सय ७४ मत प्राप्त गरेका थिए ।संघको द्वितीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्य ६ मतको झिनो अन्तर विजयी भएका छन् । उनले ८ सय ३७ मत प्राप्त गरेका थिए भने प्रतिष्पर्धी मेनुका श्रेष्ठले ८ सय ३१ मत प्राप्त गरेकी थिइन् ।
महासचिव पदमा संघको इतिहासमै पहिलो पटक महिला निर्वाचित भएकी छन् । जानुका अधिकारी पराजुलीले १ सय ७७ मतको फराकिलो मत अन्तरले जीवन तिवारीलाई पराजित गरेकी हुन् । पराजुलीले ९ सय २९ मत ल्याउँदा तिवारीले ७ सय मत प्राप्त गरेका थिए । उप–महासचिवमा भरतराज ओझा ९ सय १२ मत ल्याएर विजयी भए । उनका प्रतिष्र्धी भीमबहादुर सार्की (काईंला) ले ७ सय ५२ मत ल्याए । कोषाध्यक्षमा ध्रुवबाबु भट्टराईले ८ सय ३७ मतका साथ निर्वाचित भए । उनका प्रतिष्पर्धी पुष्पमणि भण्डारीले ८ सय १७ मत प्राप्त गरेका थिए । सदस्यहरुको मत गणना भने जारी रहेको छ ।
प्रकाशित मिति २०८० भदौ २५ गते सोमबार ०८:१४




