२०८३ साउन २१ गते बिहीबार

तीजमा विकृति भित्रियो, टेवानले हटाउन मद्दत गरोस्ः मन्त्री गुरुङ

तीजमा विकृति भित्रियो, टेवानले हटाउन मद्दत गरोस्ः मन्त्री गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २६ गते मंगलबार ०३:२६

मन्त्री गुरुङले महिलाहरु घरको चुल्होचौकामा मात्रै सीमित नभएर मुलुककै चुल्हो सम्हाल्ने गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।

पोखरा

नेपाल सरकारका कानुनमन्त्री धनराज गुरुङले विगतमाभन्दा हाल मौलिक तीज पर्वमा विकृति फैलिँदै गएको बताएका छन् ।

सोमबारदेखि पोखरा लेकसाइडमा सुरु भएको तीज महोत्सव उद्घाटन समारोहमा बोल्दै उनले पछिल्लो समय तीजमा कमीकमजोरी रहेको उल्लेख गरेका हुन् ।

‘तीजका सन्दर्भमा विगगमा केही परम्परागत शैली र ढंगमा नियाल्दै आएका थियौं । आजभोलि तीज मनाउने क्रममा पनि कमीकमजोरी रहिरहेका छन्,’ मन्त्री गुरुङले भने, ‘टेवानले ती कमीकमजोरीलाई सुधार गर्दै कार्यक्रम गरेकोमा खुसी लागेको छ ।’

सोमबारदेखि ३ दिनसम्म चल्ने उक्त महोत्सवले आफूलाई प्रभावित बनाएको मन्त्री गुरुङको भनाइ थियो ।

‘स्थानीय उत्वादनलाई पर्यटनसँग जोड्न सक्यो भने मुलुकलाई अझै अगाडि बढाउन सकिन्छ,’ उनले भने, ‘विगतमा महिलालाई पुरुषको बैशाखीजस्तो बनाइन्थ्यो । अहिले महिलाहरु सींगो मुलुक हाँक्ने मेरुदण्ड बन्नुपर्छ ।’

मन्त्री गुरुङले महिलाहरु घरको चुल्होचौकामा मात्रै सीमित नभएर मुलुककै चुल्हो सम्हाल्ने गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।

‘महिलाहरुलाई मात्रै दोष थुपार्ने, पुरुष आफू पानी माथिको ओभानो बन्ने सोच्न हुँदैन,’ उनले भने ।

पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)को आयोजनामा लेकसाइडमा ३ दिने तीज महोत्सव सुरु भएको हो ।

महोत्सव २७ गतेसम्म चल्ने संस्थाकी अध्यक्ष कमला गिरीले जानकारी दिइन् ।

कोभिडपछि सुस्ताएको पर्यटन व्यवसायलाई टेको दिन महोत्सवको आयोजना गरिएको आयोजकको भनाइ छ ।

महोत्सवमा प्रदेशभरिका महिला पर्यटन व्यवसायी सहभागी भएका छन् ।

प्रकाशित मिति २०८० भदौ २६ गते मंगलबार ०३:२६
हजुरको प्रतिक्रिया