पोखरा
विपदको बेला उद्धारमा सघाउनलाई कर्मा फ्लाइटस् फाउण्डेसनले थर्मल इमेजिङ क्यामेरा हस्तान्तरण गरेको छ ।
कर्मा फ्लाइटस् फाउन्डेसनले नवौं साधरणसभा तथा पाँचौ अधिवेशनको अवसर पारेर मंगलबार उद्धारमा संग्लन सरोकारवालालाई ५ थान क्यामेरा हस्तानतरण गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति कास्की र मुस्ताङ, नेपाल रेडक्रस सोसाइटी कास्की, छोमरोङ पर्यटन विकास समिति र सशस्त्र प्रहरी बलको कालिका गण मालेपाटनलाई १\१ थान क्यामेरा प्रदान गरेको फाउन्डेसनका फिल्ड संयोजक राजु परियारले जानकारी दिए । उनका अनुसार एभिओन युकेले ६ थान क्यामेरा कर्मा फ्लाइटस्लाई उपलब्ध गराएको थियो । १ थान कर्माले नै राखेको छ ।
विपद्को बेला उद्धारमा निकै प्रभावकारी हुने परियारको भनाइ छ । जमिनमुनी पनि तापक्रमको आधारमा खोज तथा उद्धार गर्न यो क्यामेराले सघाउनेछ । आगलागी भएको ठाउँमा पनि उद्धार गर्न क्यामेरा उपयुक्त हुने परियारले बताए ।
नेपाली बजारमा उक्त क्यामेराको मूल्य झन्डै १ लाख रुपैयाँ पर्छ । क्यामेरा गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले सरोकारवालालाई हस्तान्तरण गरे ।
मन्त्री जुग्जालीले सरकारले पनि विपद्धको बेला खोज तथा उद्धारका लागि प्रविधिमा लगानी गर्न आवश्यक रहेको बताए ।
यस्तै, कर्मा फ्लाइटस् फाउन्डेसनले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका अपांगता भएका भीम विष्टलाई ह्विलचियर उपलब्ध गराएको छ ।
फाउण्डेसनले लायन्स क्लबसँगको सहकार्यमा ह्विलचियर उपलब्ध गराएको हो ।
प्रकाशित मिति २०८० भदौ २७ गते बुधबार ११:४९




